स्थलगत रिपोटः रौतहट बाढीपीडितका पक्षमा उदाहरणीय काम, समग्र राज्यसंयन्त्रसहितको सहयोगी हातलाई सलाम ! 

गौर (रौतहट) १६ असोज ः सङ्घीय, प्रदेश तथा स्थानीय सरकार, जिल्लास्थित राजनीतिक दल, उद्योगी–व्यावसायी एवं नागरिक समाजको सहयोग र सहकार्यमा बाढी प्रभावित रौतहटवासीलाई राहत सहयोग उपलब्ध गराउने काम तीव्ररुपमा भइरहेको छ । 

रौतहट जिल्ला प्रशासन कार्यालयको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी वल र राष्ट्रिय अनुसन्धान विभागअन्तर्गतका सुरक्षासम्बद्ध निकायका राष्ट्रसेवक कर्मचारीले प्राप्त जिम्मेवारीअनुसार राहत सामग्री सहयोग, उद्धार तथा शान्ति सुरक्षाको काममा अहोरात्र खटिएको भनी जिल्लामा सर्वत्र प्रशंसा भएको छ । यसैगरी अविरल वर्षाका कारण डुवानमा परी विग्रेभत्केका सडक निर्माण तथा मर्मतसम्भार, ढल, सिंचाई–कुलो र खानेपानी व्यवस्थापन तथा झाडा–पखला, हैंजाजस्ता रोगबाट जनतालाई जोगाउन सम्बद्ध सरकारी निकायका बीच समन्वयात्मक ढङ्गबाट काम भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी बताउनुहुन्छ । 

जिल्लास्थित प्रमुख राजनीतिक दल तथा तिनका भ्रातृ सङ्घसस्थाका तर्फबाट सरकारी संयन्त्रको सहयोगमा प्रारम्भिक क्षतिको विवरण सङ्कलन, राहत सहयोग, उद्धार  तथा चतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको नेकपा एमाले केन्द्रीय सदस्य एवं रौतहट इन्चार्ज अजय गुप्ता बताउनुहुन्छ । 

यसैगरी नेपाली काँग्रेसका नेता एवं जिल्ला सभापति कृष्णकुमार यादव बाढी प्रभावित स्थानीय जनताको सुखदुखमा साथ दिन पार्टीले निर्देशन दिएबमोजिम आआफ्नो कार्यक्षेत्रमा काँग्रेसजन अहोरात्र खटिरहेको बताउनुहुन्छ ।  

त्यस्तै जिल्लास्थित नेकपा (मोओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र आम जनता पार्टी प्रमुखले विद्यमान असहज परिस्थितिमा विचारभन्दा माथि उठी बाढी प्रभावित जनतालाई राहत सहयोग उपलब्ध गराउन आआफ्ना पार्टी पङ्तिलाई परिचालन गरिसकेको जानकारी दिँदै दसैं, तिहार, छठजस्ता आसन्न राष्ट्रिय चाडपर्वलाई समेत दृष्टिगत गरी प्राथमिकताका साथ राहत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेका छन् । 

यसैगरी मधेश प्रदेश सरकारले बाढी पीडित रौतहटवासीका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्राथमिकीकरणका आधारमा  मातहतका जिल्ला तथा पालिकाका पीडितलाई सहयोग उपलब्ध गराउने जनाएको छ ।    

स्थानीय सरकारका रुपमा परिचित पालिकाहरूले बाढी प्रभावित रौतहटवासीलाई निशुल्क रूपमा खानाको प्रबन्ध, दाल–चामलसहित खाद्यान्न, त्रिपालसहित चिकित्सक एवं स्वास्थ्यकर्मीको व्यवस्था गरेका छन् । जिल्लास्थित पालिका तथा वडाहरूको संयोजन तथा सहयोगमा बाढी पीडित जनतालाई अनुकरणीय साथ सहयोग प्राप्त भइरहेको नेकपा (एस) का केन्द्रीय सदस्य रेवन्त झा बताउनुहुन्छ । 

यसै सन्दर्भमा कटहरिया नगरपालिकाका प्रमुख जयप्रकाश जयसवाल प्रभावित परिवारका घरघरमा गई धनमाल, पशुचौपाया, धानबालीमा भएका क्षतिको विवरण सङ्कलन गरी राहत सहयोग उपलब्ध गराउन जुटिरहनुभएको छ । नगरपालिकाको वडा नं. १ भसेडवामा बाढी प्रभावित करिब १५०, वडा नं. २ को जमुनिया छेदीचोक टोलमा ६१ र वडा नं. ४ मा २५० घरपरिवारलाई कटहरिया नगरपालिकाले दाल–चामल, त्रिपाललगायतका राहत सामग्री उपलब्ध गराएको नगरप्रमुख जयसवालले जानकारी दिनुभयो । 

यसैगरी बारा जिल्ला पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह (कुर्मी) को नेतृत्व एवं नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य एवं रौतहटका पूर्व सांसद् बबन सिंह र  एमाले जिल्ला उपाध्यक्ष रुपेश पटेलको सहयोगमा पचरौता नगरपालिकाका  उपप्रमुख, वडाअध्यक्षसहित चिकित्सक एवं स्वास्थ्यकर्मी सम्मिलित टोलीले स्थानीय पालिका तथा वडा कार्यालयको सहकार्यमा रौतहट जिल्लाको बाढी पीडित राजदेवी नपा वडा नं. ८ को लक्ष्मीपुर, दुर्गा भगवती गापा वडा नं. ५ को बडहर्वा  र परोहा नपा वडा नं. ३ को तेजापाकड टोलका जनतालाई  निशुल्क खाना तथा स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।   

स्थानीय बाढी पीडित सरोकार समूहका तर्फबाट उद्धार, राहत सहयोगमा जुट्ने केन्द्रसहित तीन तहका सरकार, राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिप्रति आभार व्यक्त गर्दै गाँस, बास, स्वास्थ्य, सुरक्षा व्यवस्थासहित दीर्घकालीन सहयोगका लागि सरकारको ध्यानाकर्षण गरिएको छ ।    

सङ्घीय राजधानी काठमाडौँसहित अन्यत्र जिल्लामा जस्तै रौतहट जिल्लामा हालै आएको अविरल वर्षाबाट दुई जनाको मृत्यु हुनुका साथ करिब दुई हजार घरपरिवार प्रभावित भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । 

विशेषगरी बाग्मती नदीसहित स्थानीय खोलानालासँग जोडिएका रौतहट जिल्लाको गढीमाई नगरपालिकाको धरमपुर र समनपुर, कटहरिया नपाको जमुनिया र छेदीचौर, गौर नपाको सब्गाढाको लच्कालग, इस्नाथ नपाको बैरियालगायतका क्षेत्र बाढीबाट बढी प्रभावित भएका छन् । प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार जिल्लास्थित सरकारी निकायका अतिरिक्त सर्वदलीय एवं सर्वपक्षीय संयन्त्र बाढी तथा डुवानबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलनसहित राहत सामग्री सङ्कलन तथा सहयोग र उद्धारमा जुटेको देखिन्छ । उहाँ भन्नुहुन्छ, “ प्राकृतिक विपद्को दुखद घडीमा बाढी पीडित घरपरिवारको तर्फबाट राहत सहयोगका अपक्षा गरिनु स्वभाविक हो,  स्रोतसाधन र आवश्यकता समेतलाई दृष्टिगत गरी पीडित परिवारलाई यथासक्य छिटो सहयोग उपलब्ध गराइने छ, उदारतापूर्वक सक्दो सहयोग गरी बाढी पीडित परिवारजनका पक्षमा ऐक्यवद्धता जनाउन सबैसँग अनुरोध गर्दछु ।”