अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न, गोल्ड मेडलिस्ट फोगाट सहभागी

रौतहट, २६ फागुन ।

भारतीय अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट महिला पहलवान बबिता फोगाटको उपस्थितिमा रौतहटको मौलापुरमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।

मधानी महायज्ञको अवसरमा आयोजित उक्त  प्रतियोगिताको अध्यक्षता नगरप्रमुख रीना कुमारी साहले गरेकी थिइन् भने नेपाल र भारतका लोकप्रिय खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने र मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने सङ्कल्पका साथ मौलापुर नगरपालिकाले मधानी महोत्सव आयोजना गरेको हो । कार्यक्रमका दौरानमा बलिउड अभिनेता गोबिन्दा र नेपाली कलाकारले पनि माहौल तताएका थिए ।

हिन्दी फिल्म ‘दंगल’ की वास्तविक खेलाड़ी बबिताको आगमनले मधानी महायज्ञ र मन्दिरको प्रवद्र्धनमा ठुलो सहयोग पुग्ने संघीय सांसद प्रभु साहले विश्वास व्यक्त गरे ।

यसैबीच बबिता फोगाटले मौलापुरस्थित पुरातात्विक महादेव मन्दिरमा विशेष पूजा गरेकी छिन् । पूजा पश्चात खेलाडी फोगाटले सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महाशिवरात्रिको अवसरमा पुरातात्विक महादेव मन्दिरमा दर्शन पाउनु आफ्नो सौभाग्य भएको बताइन् ।

विगतमा मौलापुर क्षेत्रमा बोटो, शिक्षा, स्वास्थ जस्ता आधारभूत आवश्यकता शून्य रहेको तर नगरपालिका स्थापित भएपछि सम्पूर्ण सुबिधा सहज भएको आफूले पाएको भन्दै उनले मेयर साहको भूमिकाको सराहना गरिन् ।

मौलापुर नगरपालिकाले मधानी महोत्सवको अवसरमा प्रत्येक बर्ष अन्तर्राष्ट्रियस्तरको कुस्ती प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस पटकको प्रतियोगितामा नेपाल र भारतका तीन दर्जन बढी प्रख्यात खेलाडीको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।

पाँच दिवसीय महोत्सवको चौथो दिन भने शुक्रवार बलिउड अभिनेता गोविन्दा आहुजा, नेपाली नायक पल साह लगायत दर्जनौँ कलाकारहरुले आआफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले गोविन्दा, पल शाह लगायत कलाकारलाई सम्मानित गरेका थिए । मौलापुर नगरपालिकाले २०७६ सालदेखि मधानी महोत्सवको आयोजना गर्दै आएको छ ।