लेकाली बसिफाँटमा निर्वाचनबाट क्याप्टेन चयन

हेटौंडा–मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले विद्यार्थीलाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले पूर्ण प्रयोगात्मक निर्वाचनबाट प्रतिनिधि चयन गरेको छ ।

विद्यार्थीलाई गोप्य मतदान, प्रतिनिधि छनोट प्रक्रिया, उमेदवारी घोषणा, चुनाव प्रचारप्रसार , आचारसंहिता, प्रतिबद्धतालगायतको बारेमा जानकारी गराई नेतृत्वदायी क्षमताको विकास गराउने उद्देश्यले विद्यार्थीबीच निर्वाचन गराई क्याप्टेन छानिएको हो । शुक्रबार विद्यालयमा गरिएको निर्वाचनबाट विभिन्न ४ सदनका लागि कप्तानहरु छनौट गरिएको निर्वाचन अधिकृत यश लामाले जानकारी दिए ।

निर्वाचनको मत परिणाम अनुसार रातो सदनका लागि अभिषेक लामा कप्तान चुनिएका छन् । उनले कुल खसेको मतमध्ये २४ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी प्रशान्त सिन्तानले १३ मत पारे भने सुमित्रा थिङले ७ भोट प्राप्त गरेकी छन् । त्यस्तै हरियो सदनमा सुकुराज गोले विजयी भएका छन् । खसेको कुल मतमध्ये उनले २७ मत ल्याएका थिए । त्यस्तै उनका निकटतम प्रतिद्वन्दी सुवास पाख्रिनले १९ मत ल्याए भने सोनाम छ्योकी बलले शून्य मत प्राप्त गरे । हरियो सदनमा सदर मतको संख्या ४६ रहेको थियो ।

त्यस्तै पहेँलो सदनमा २३ मत प्राप्त गर्दै प्रशान्त बल विजयी भए । उनका निकटतम प्रतिद्वन्दी मिलन गोलेले १५ मत र साखुरा बलले ११ मत प्राप्त गरेका थिए । पहेँलो सदनका ५० प्रतिनिधिहरुले खसालेका मत मध्ये १ मत बदर भएको थियो । साथै निलो सदनमा ३१ मत ल्याउँदै सोमबहादुर बल विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी सोसिका लामाले १४ मत प्राप्त गरेका थिए । निलो सदनमा भएका ५८ विद्यार्थीहरुमध्ये कुल ४५ मत मत खसेको थियो । निर्वाचन सकिएसँगै निर्वाचन अधिकृत लामाले विजयी उम्मेदवारहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।