समयमा पानी नपाए आन्दोलन गर्ने बगहीका किसानहरुको चेतावनी


रौतहट । भदौ २० गते
बागमति सिचाई आयोजनाको चरम लापरवाहीका कारण रौतहटको पच्छिमी भेगका किसानहरु मर्कामा परेका छन ।
विगत केहि दिनदेखी आकाशे पानी पनि पर्न बन्द भएको र यस्तो सुख्खा मौसम हुँदा पनि बागमती सिचाई आयोजनाले नहरमा पानी सप्लाई नदिदा रौतहटको पच्छमी भेग स्थित कटहरिया नगरपालिका क्षेत्र अन्तर्गतका हजारौं किसान समस्यामा परेका छन् ।
सिचाई आयोजनाले कटहरिया नगरपालिका ७ वगही स्थितको नहरमा अहिलेसम्म पनि पानी नदिदा त्यस क्षेत्रका हजारौ हजार विघा क्षेत्रफलमा लगाइएको धान बाली सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन ।
नहरमा पानी नआएपछि किसानहरुले हजारौं रुपैया खर्च गरेर बोरिंङ तथा पम्पसेट बाट खेतमा सिचाई गर्न बाध्य छन् । बोरिंङको पँहुुच नभएका किसानको खेत बाँझै देखिन्छ ।
बागमति सिचाई आयोजनाको प्रशाखा कार्यालय वगहीमा रहेको छ । किसानलाई समयमा पानी उपल्बध गराउने प्रशाखा कार्यालय वगहीको काम हो तर यस्तो सुख्खा मौसममा पानीको लागि किसानहरु छटपटाइरहे पनि प्रशाखा कार्यालय वगही मौन भएर बसेको किसानहरुले बताएका छन ।
सिचाई आयोजना र प्रशाखा कार्यालय वगहीको लापरवाहीका कारण कटहरिया नगरपालिकाका अधिकांश गाउँका किसानहरुले हजारौ क्षेत्रफलमा लगाएको धानबाली सुक्न थालेको छ ।
आयोजनाले वगही प्रशाखा अन्तर्गतका नहरमा समयमा पानी नदिदा आफुले लगाएको २ विघा भन्दा बढी धानबाली सुक्न थालेको वगहीका किसान शिवचन्द्र साहले बताएका छन ।
कटहरिया नगरपालिका ७ वगहीका वडा अध्यक्ष हरिभजन साहले पनि यस वगही प्रशाखा अन्तर्गतको नहरमा सिचाई आयोजनाले समयमा पानी सप्लाई नदिदा किसानहरु समस्यामा परेको बताएका छन ।
वडा अध्यक्ष साहले आज एक प्रेस विज्ञप्ती निकाल्दै नहरमा तत्काल पानी सप्लाई गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन ।
आयोजनाले समयमै पानी नदिएको कारण वर्षेणी यस क्षेत्रका किसानहरु पानीको समस्या झेल्दै आएको उनले बताए ।
नहरको रेखदेख र सरसफाई गर्ने जिम्मेवारी पाएको वगही प्रशाखाले अहिलेसम्म नहरलाई समेत सरसफाई नगरेको वडा अध्यक्ष साहले बताए ।
सरसफाईको अभावमा नहर फोहोर भएकै कारण आयोजनाले पानी दिन आनाकानी गरेको उनको बुझाइ छ ।
प्रशाखा अन्तर्गतको संसारीमाई जल उपभोक्ता समितिमा नहरको सरसफाईको लागि वर्षेणी लाखौ बजेट आउने गरेको भएपनि समितिले नहर सरसफाई गर्नतिर कुनै ध्यान नदिएको भन्दै वडा अध्यक्ष साहले आक्रोस व्यक्त गरेका हुन ।
समितिको अध्यक्ष चौधरीले सिचाइ आयोजनाकै दोष लगाएर आफनो जिम्मेवारीबाट पन्छिन खाजेकी छिन ।
अध्यक्ष चौधरीले नहरमा पानी दिन पटक पटक सिचाइ आयोजनालाई आग्रह गरेपनि कुनै वास्ता नगरेको बताएकी छिन ।
अबको केहि दिन भित्रमा नहर सरसफाई हुने र पानी पनि आउने उनले बताइन ।