‘अस्तव्यस्त ठाकुरराम बहुमुखी क्याम्पसलाई एक वर्षभित्रै ट्रयाकमा ल्याइन्छ’

878

वीरगञ्ज, १४ माघ – नेपाली शिक्षा क्षेत्रको सबैभन्दा पुरानो इतिहास बोकेको, तराई–मधेशमा शिक्षा र चेतनाको दीप बाल्ने ठाकुरराम बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर तथा सुधार समयसापेक्ष हुन सकेको छैन।

कुनै समय वीरगञ्जमा पञ्चायती तानाशाही व्यवस्था विरोधी आन्दोलनको केन्द्रविन्दु मानिने यो क्याम्पसले अत्यन्त प्रतिभाशाली र देशलाई नेतृत्व दिने क्षमता भएका व्यक्तित्वहरुको उत्पादन गरेको इतिहास छ।

तर, आज यो क्याम्पसले आफ्नो इतिहासलाई धुमिल बनाउँदै शैक्षिक गुणस्तरमा ह्रास ल्याउन थालेको छ। खासगरी योग्यताका आधारमा भन्दा शक्तिकेन्द्रका निकट व्यक्तिहरुलाई पदीय दायित्व सुम्पने शासकको प्रवृतिले क्याम्पसको दुरावस्था भएको बुद्धिजीवीहरु बताउँछन्।

त्यसैले पनि यो शैक्षिक प्रतिष्ठान अहिले राजनीतिक भर्ती केन्द्रका रुपमा परिचित बन्दै गएको छ। शैक्षिक प्रतिष्ठानमा दवाव समूहको रुपमा रहने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन एक दशकदेखि नहुँदा व्यवस्थापकीय सुधारहरुमा क्याम्पस प्रशासनको आलटाले प्रवृति व्याप्त छ। झण्डै चार हजार ५ सय विद्यार्थी अध्ययनरत ठाकुरराम बहुमुखी क्याम्पसको शैक्षिक तथा भौतिक सुधारमा समेत प्रशासनले ध्यान दिएको देखिँदैन।

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता, विद्यार्थी संगठनका नेता उपकुलपति लगायत सरोकारवाला सबैसँग भर्खरै बैठक गरेर फागुन १४ गते नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्नका लागि निर्देशन दिएका छन्। ठुलै राजनीतिक घटनाक्रमको विकास नभएमा अब निर्धारित मितिमै स्ववियु निर्वाचन हुनेछ।

प्रधानमन्त्रीको निर्देशनसँगै वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पनि युनियन चुनावको चहलपहल सुरु भएको छ। यसै प्रसंगमा ठाकुरराम क्याम्पसमा अध्ययनरत समाजवादी विद्यार्थी फोरमका नेता निखिल बर्णवालले आगामी निर्वाचनमा फोरमको तर्फबाट आफुले युनियन सभापतिको उम्मेदवारी दिने बताएका छन्।

फोरमका केन्द्रीय सचिवालय सदस्य समेत रहेका निखिल बर्णवालले ठाकुरराम क्याम्पसको दुरावस्थाको चर्चा गर्दै नेपाली पब्लिकसँग भने, ‘क्याम्पस प्रशासन र स्वतन्त्र विद्यार्थी युनियन दलीय पूर्वाग्रहमा लागेका छन्, क्याम्पसको हितमा उनीहरुले कामै गरेका छैनन्, राजनीतिक भागबण्डाका आधारमा क्याम्पस प्रमुखको नियुक्ति गरिनु नै क्याम्पसको समग्र शैक्षिक गुणस्तर बृद्धिका बाधक हुन्।’

‘अब नेतृत्व हामी गर्छौं’

ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख कांग्रेस निकट मानिन्छन्। स्वतन्त्र विद्यार्थी युनियन पनि कांग्रेस भ्रातृ संगठन नेवि संघकै नेतृत्वमा रहेको छ। २०६५ सालमा निर्वाचित स्ववियु अहिले कामचलाउ अवस्थामा मात्रै रहेको छ।

आगामी निर्वाचनमा परिवर्तनका पक्षमा परिणाम आउने विश्वास व्यक्त गर्दै बर्णवालले आफ्नो संगठनले त्यही अनुरुप तयारी थालेको बताए। ‘इ–लाइब्रेरी, शैक्षिक गुणस्तरमा सुधार, सरसफाई, छात्रवृति तथा विद्यार्थीको हक अधिकारका लागि हामीले योजनाबद्ध कार्यक्रम बनाएका छौँ,’ उनले भने, ‘अब स्ववियु निर्वाचन जितेर कार्यान्वयन प्रारम्भ गर्छौं।’

बर्णवालले आगामी निर्वाचनमा समाजवादी विद्यार्थी फोरमको प्रतिष्पर्धा नेपाल विद्यार्थी संघसँग नै हुने बताए। ‘चुनावमा नेवि संघ हाम्रो बलियो प्रतिष्पर्धी हो, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संगठन त्यति राम्रो छैन, यद्यपि उनीहरुको पार्टी एक भएर विद्यार्थी संगठन पनि एक भएको छ, यसले अलिकति शक्ति त बढ्ला, तर स्ववियुमा नेतृत्व नै लिन सक्ने गरी संगठन छैन,’ उनले भने, ‘त्यसै पनि हामी जित्छौँ।’

यी हुन् विद्यार्थी फोरमका एजेण्डा

‘मधेशका लागि धरोहरका रुपमा रहेको ठाकुरराम क्याम्पसमा अहिले विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र गरी चार वटा संकायमा अध्ययन–अध्यापन भइरहेको छ,’ बर्णवाल भन्छन्, ‘यस क्याम्पसमा कम्तिमा पनि २० वटा संकाय सञ्चालन हुनुपर्यो भन्ने हाम्रो माग छ, केही संकाय तत्काल थप्नका लागि हामीले डिनसँग कुरा पनि गरिरहेका छौँ।’

त्यसैगरी, यस क्याम्पसबाट पासआउट भएका विद्यार्थीले बारा, पर्साको औद्योगिक करिडोरमा अनिवार्य रुपले रोजगारी पाउनुपर्ने भन्ने आफुहरुको अडान रहेको बर्णवालले बताए। ‘मेरो विश्वास छ, हाम्रो संगठनलाई विद्यार्थी साथीहरुले विजयी बनाउनु भएको खण्डमा एक वर्षभित्र क्याम्पसको शैक्षिक गुणस्तरलाई एउटा ट्रयाकमा ल्याउने छौँ।’