चन्द्रपुरबाट ठुलो परिमाणमा भन्सारछलीको मालसामान बरामद

अगम कुमार उपाध्याय
रौतहट, २६ भदौं– भारतबाट अवैद्ध रुपले नेपाल भित्रियाईएको भन्सारछलीको मालसामान रौतहट प्रहरीले चन्द्रनिगाहपुरबाट बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ अल्पाईन होटल अगाडीबाट ठुलो परिमाणमा चिनी, कपडा, चप्रा, पाउडर दुध लगायतका मालसामान बरामद गरेको हो ।
सर्लाहीबाट राजधानी काठमाण्डौं तर्फ जादै गरेको ना ६ ख १२३३ नम्बरको रात्री बसलाई रोकी चेकजाच गर्ने क्रममा १७ लाख ७५ हजार ३ सय ९५ रुपैयाँ मुल्य बराबरको भन्सारछलीको मालसामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक बीरबहादुर बुढामगरले जानकारी दिनु भयो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भन्सारछलीको मालसामान सहित बसका सह–चालक सर्लाही मलंगवा नगरपालिका वडा नं. ३ बस्ने रामबाबु ठाकुरलाई नियन्त्रणमा लिएको प्रउ मगरले बताउनु भयो ।
बरामद भएको मालसामान थप कार्यवाहीको लागी गौर भन्सार कार्यालयमा पठाईएको र पक्राउ परेका सह चालक ठाकुरलाई प्रहरी हिरासतमा राखी घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय राजधानी काठमाण्डौंको लागी महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा लगायतका जिल्लाबाट छुटेको यात्रुवाहक बसमा भन्सारछलीको मालसामा तस्करी गर्ने क्रम बढेको प्रहरीले जनाएको छ ।