यी दानी वडाध्यक्ष, जसले आफ्नो तलब मदरसालाई सुम्पिए

हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नं। १ का वडा अध्यक्ष सविन न्यौपानेले आफ्नो एक महिनाको तलब आफ्नै वडामा निर्माण भइरहेको मुस्लिम समुदायको अनाथ बालबालिकाहरु अध्ययन गर्ने मदरसा दारुल कुरआनलाई सहयोग गरेका छन् ।

मदरसा दारुल कुरआनका पदाधिकारीहरु सम्मिलित एक कार्यक्रमबीच विहीबार अध्यक्ष न्यौपानेले एक महिनाको तलब बराबरको चेक मदरसा समितिका अध्यक्षलाई हस्तान्तरण गरेका हुन् । हेटौंडा उपमहानगरपालिकाले वडा अध्यक्षलाई मासिक २५ हजार रुपियाँ तलब दिँदै आएको छ ।

वडा नंं. १ को जरुवाटोलमा साढे १० धुर क्षेत्रफल जग्गामा निर्माण भइरहेको मदरसाको छत ढलानको काम भोलि शनिबार हुँदैछ । विभिन्न क्षेत्रबाट जुटेको बजेट र सहयोगबाट निर्माण भइरहेको भवन ढलान गर्न समस्या आउने देखेपछि विहीबार मदरसा व्यवस्थापन समिति र निर्माण समितिका पदाधिकारीहरुले वडा अध्यक्ष न्यौपानेसंग भेटेका थिए । सोही अवसरमा अध्यक्ष न्यौपानेले आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।

वडा अध्यक्ष न्यौपानेले अनाथ मुस्लिम बालबालिकामात्र अध्ययन गर्ने विद्यालयलाई सहयोग गरेकोमा खुशी व्यक्त गर्दै मदरसाका अध्यक्ष मियाँले सबै मुस्लिम समुदायबाट धन्यवाद ज्ञापन गरे । मदरसाका उपाध्यक्ष तथा निर्माण समितिका संयोजक जब्स मियाँले भवन निर्माणमा अध्यक्ष न्यौपानेले गरेको सहयोग सबैको लागि प्रेरणाको स्रोत भएकोमा खुशी व्यक्त गर्दै देशभरिका मुस्लिमले अध्यक्ष न्यौपानेको कार्यको प्रशंसा गर्ने बताए । उनले यो कार्यबाट शैक्षिक क्षेत्रलाई सबैले सहयोग गर्नुपर्छ भन्ने सन्देश गएको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी समितिका सल्लाहकारद्वय हातिम अन्सारी र समिम मियाँ, सहसचिव जुनैजु मियाँ, सदस्य फिरोज खानलगायतले सहयोगको प्रशंसा गरेका थिए । कुल ६ वटा कोठा रहेको भवनमा हाल कक्षा ३ सम्म अध्यापन हुँदै आएको मदरसाका अध्यक्ष मियाँले जानकारी दिए । उनका अनुसार विद्यालयमा हाल ४० जना अनाथ मुस्लिम विद्यार्थी अध्ययनरत् छन् ।