कैलाश गाउँपालिकाको बजेटले कार्यकर्ता प्रशिक्षण, तीन दिनमा साढे तीन लाख झ्वाम्

हेटौंडा– मकवानपुरको कैलाश गाउँपालिकाले गाउँको बजेटको चरम दुरुपयोग गरेको छ । युवा क्षमता विकास तालिम शीर्षकमा छुट्याइएको बजेटबाट गाउँपालिकाले नेकपाको कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।

मकवानपुरको मनहरीमा तीनदिनसम्म आवासीय प्रशिक्षणको आयोजना गरी बजेटको दुरुपयोग गरिएको हो । फिलिङ्गो मिडियालाई तीन लाख ५० हजार रुपैयाँको कार्यक्रम दिइएको थियो । उक्त कम्पनीले मकवानपुरको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाको नेकपा कार्यकर्ताको भेला गराई माक्र्सवाद र माओवादको बारे प्रशिक्षण दिएको हो ।

युवापुस्ता, जनप्रतिनिधि र पार्टी पंक्तिलाई, क्षमता विकास र नेतृत्व निर्माण गर्न भन्दै माक्र्सवादका आधारभूत सिद्धान्त, नेपाली कम्युनिष्ट आन्दोलन र अबको कार्यभारबारे तालिमको लागि तीन गाउँपालिकाका कार्यकर्तालाई आह्वान गरिएको निम्तो आयोजक संस्थाका रामकुमार एलनले फेसबुकमा पोष्ट गरेका छन् । एलनले फेसबुकमा हालेको सूचनाअनुसार प्रशिक्षण असार १८ गतेबाट सुरु भई शुक्रबार समापन भएको हो । प्रशिक्षण कार्यक्रममा १८ गते नेकपा नेता डा. विजयकुमार पौडेल, असार १९ गते राम कार्की पार्थ र २० गते घनश्याम भूसालले कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।

राष्ट्रिय सभा सांसद रामनारायण विडारी, संघीय सांसद विरोध खतिवडालगायतले पनि प्रशिक्षण दिएका थिए । भेलामा करिब ६० जना युवाको सहभागिता रहेको थियो । गाउँपालिकाको युवा क्षमता विकास तालिमको पैसाले आफ्ना कार्यकर्ताहरुलाई माक्र्सवाद र माओको सिद्धान्त पढाएको भन्दै कैलाश गाउँपालिकाका जनप्रतिनिधिहरु आक्रोशित बनेका छन् । वडाअध्यक्षहरुले यसबारेमा गाउँपालिका प्रमुखसँग जवाफ माग्ने बताएका छन् ।

गाउँपालिकाको बजेटबाट पार्टी कार्यकर्तालाई प्रशिक्षण दिएको विषयमा प्रतिक्रिया माग्दा गाउँपालिका अध्यक्ष टंक मोक्तानले पार्टीको कार्यकर्ताको हैसियतमा मात्रै फरक तर्क प्रस्तुत गरे । ‘कम्युनिष्टको सिद्धान्त भनेको विश्वको मार्गदर्शक सिद्धान्त भएको जिकिरे गर्दै उनले भने – ‘हामीले पनि त्यहि सिकेर आएको हो । यहि पढाएको हो । पार्टीको प्रशिक्षण मात्र नभई समाजवादतर्फ उन्मुख गराउन युवाहरुलाई प्रेरित गर्न तालिम दिइएको हो ।’ संविधानको मर्मअनुसार गाउँपालिकाले समाजवाद उन्मुख शिक्षा दिएको भन्दै उनले त्यसमा कुनै गलत व्याख्या गर्नु आवश्यक नभएको बताए ।

गाउँपालिकाले अझै बजेट ल्याउन सकेन
असार १० गते नै सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने प्रावधानको खिल्ली ढडाउँदै कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छैन ।

गाउँपालिका अध्यक्ष टंक मौक्तानले एकलौटी निर्णय गरी कार्यपालिका सदस्यको भावनालाई नबुझेको भन्दै वडाध्यक्षहरुले नै कार्यपालिका बैठक बहिष्कार गरेपछि गाउँपालिकाको बजेट सार्वजनिक हुन नसकेको हो ।

वडाध्यक्षहरुले वडाको सिलिङ बजेट ५० लाख तोक्न माग गरेका थिए । तर, गाउँपालिका अध्यक्ष मोक्तानले सिलिङ बजेट नदिने अडान लिएपछि वडाध्यक्षहरु रुष्ट भएका हुन् । कैलाश उँपालिकाको कार्यपालिका बैठक वडाअध्यक्षहरुद्वारा तेश्रोपटक पनि बहिष्कार गरेका छन् ।

असार ६ गते, १० गते र १७ गते बस्ने भनिएको बैठक वडाध्यक्षहरुको बहिष्कारको कारण बस्न सकेन । बैठक व्यबस्थित र समयतालिकाअनुसार नभएको, फरक राजनीतिक दलको उपभोक्ता समितिले गरेको कामको पेश्की फछ्र्योट नगरेको, एजेण्डाको बारेमा जानकारी नै नदिई गाउँपालिका प्रमुखले एकलौटी निर्णय गर्न खोजेको वडाध्यक्षहरुको आरोप छ ।