अगम कुमार उपाध्याय
रौतहट, माघ २५ गते ।
जिल्ला प्रहरी कार्यालय बाराले अबैधरुपमा भारतबाट ल्याउदै गरेको अवस्थामा ४९ लाख नेपाली रुपियाँ सहित २ जनालाई पक्राउ गरेको छ ।
बाराको फेटा गाउपालिका वडा नम्बर–५ जोतपुरटोल स्थित नेपाल भारत सिमाक्षेत्र दशगजा नजिकैबाट नेपालतर्फ आउदै गरेको बि.आर.०५ वाई ६४१७ नम्बरको भारतीय मोटरसाईकल चेकजाँच गर्ने क्रममा ४९ लाख रुपियाँ सहित २ जनालाई पक्राउ गरी आईतबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनको आयोजनागरी सार्वजनिक गरिएको हो ।
सो अबैध रुपियाँ साधारण झोला भित्र राखेर मोटरसाईकलमा झुण्ड्याएर आउदै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्दा सो रुपियाँ बरामद गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला हरपुर थाना वडा नम्बर–१० घोडासहन बस्ने वर्ष २६ को अरबिन्द महतो र नाम परिर्वतित कलैया उपमहानगरपालिका वडा नम्बर–३३ छ १३९ बस्ने वर्ष १४ को नाबालक पक्राउ परेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
प्रहरीले झोला भित्रबाट हजार दरका एक हजार ९ सय २३ थान, ५ सय दरका ५ हजार ७ सय ४ थान, सय दरका एक हजार २ सय थान र ५० दरका एक सय थानगरी जम्मा रु.४९ लाख बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।
पक्राउ परेका दुबै अभियुक्तहरुलाई बारा जिल्ला अदालतबाट आईतबार म्याद थपगरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो ।
कैप्सनको लागि
अबैध रुपियाँसहित पक्राउहरुसँग बारा प्रहरी प्रमुख ।