बम काण्डका अभियुक्त आलम नख्खु जेल चलान
रौतहट, ३० कातिक । रौतहटको राजपुर बम विस्फोट प्रकरणका मुख्य अभियुक्त मोहम्मद आफ्ताब आलमलाई नख्खु कारागार लगिएको छ । जिल्ला अदालत रौतहटले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि केही घण्टा जिल्ला कारागार रौतहटमा राखे पनि सुरक्षाका कारण आलमलाई आज बिहान ४ बजे ललितपुरको नख्खु कारागार लगिएको नेपाल प्रहरीका प्रवक्ता डीर्आइजी विश्वराज पोख्रेलले जानकारी दिनुभयो ।अदालतको आदेशमा सुरक्षाका हिसावले आलमलाई रौतहटमा राख्न उपयुक्त नहुने भन्दै अरु कारागारमा स्थानान्तरण गर्न सक्ने आदेश पनि दिएको थियो । फैसलापछि रौतहटमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आलमको विपक्षमा बयान दिएका सरकारी साक्षीलाई पनि सुरक्षा दिइएको रौतहटका एसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभएको छ । आलमलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने न्यायाधिवक्ता खडिन्द्र कटुवालले सुरक्षाको माग गर्दै सरुवा गरिदिन माग गर्नुभएको छ ।