हात्तिको आक्रमणबाट दुई जनाको मृत्यु

हात्तिको आक्रमणबाट दुई जनाको मृत्यु पर्सा, ३० कार्तिक । पर्साको ठोरीसंग जोडीएको चितवन राष्ट्रिय निकुन्जको सडकखण्डमा शनिवार जंगली हात्तिले आक्रमण गर्दा मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चितवनको माडीबाट पर्साको ठोरी आउने क्रममा चितवन राष्ट्रिय निकुन्ज स्थित सडक खण्डको अमुवा पोष्ट नजिकै रातोमाटे डाँडामा जंगली हात्तिले आक्रमण गर्दा माडी नगरपालीका वाडा नम्बर १ बरुवा निवासी ६० बर्षिय बाबुराम पौडेल र निजका छोरा ३० बर्षिय राजु पौडेलको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय माडी बसन्तपुरले जनाएको छ । माडीको बगहीबाट लु ३१ प २९११ नम्बरको मोटरसाईकल मार्फत ठोरी तर्फ जाँदै गरेका पौडेलका बाबु छोरालाई जंगली हात्तिले आक्रमण गरेको थियो । यसैबिच शनिवार बिहान काठमाण्डौंबाट पर्साको सुबर्णपुर आईरहेको बसमाथि समेत हात्तिले आक्रमणको प्रयास गरेको र झण्डै आधा घण्टा हात्तिले बाटो छेकेको माडी कृष्ण नगरका अर्जुन अधिकारीले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय माडी तथा भरतपुरबाट आएको प्रहरी टोलीले घटनास्थलको स्थलगत अनुसन्धान गरी मृतकको शव पोष्टमार्टमकालागी भरतपुर अस्पताल पठाएको छ । चितवन राष्ट्रिय निकुन्ज भित्र मोटरसाईकल साईकल र पैदययात्रा गर्दा जंगली जनावरहरुबाट आक्रमणको खतरा बढ्दै गएको छ । निकुन्जभित्र संरक्षित जंगली हात्ती,गैंडा लगायतका जनावरहरुले यात्रुहरु एवं सवारी साधनहरुको बाटो छेक्ने,आक्रमण गर्ने र कतिपय अबस्थामा ज्यानै लिने गरेका छन् । निकुन्जभित्रको सुबिधा प्राप्त बाटो प्रयोग गर्दै दैनिक सयौं यात्रुबाहक बस र अन्य सवारी साधनहरु आवत जावत गर्ने गर्दछन् । यसैक्रममा कहिले जंगली हात्तिले एक्लै र कहिलेकाँही बथान सहित सवारी साधन रोक्ने वा आक्रमण गर्ने गरेको छ । मोटरसाईकलमा यात्रा गर्दा प्राय सधै जंगली जनावरको आक्रमणको सन्त्रास भईरहने माडी जनजिवन माध्यामिक बिद्यालयका शिक्षक राम प्रसाद भण्डारीले बताउनुभयो ।