चोरी भएको विष्णुको मूर्ति सहित चोर पक्राउ

बारा, ३० कातिक । पोखरी खन्ने क्रममा भेटिएको प्राचिन विष्णुको मूर्ति सहित चोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सलार्ही जिल्ला बरहथवा नगरपालिका वडा नम्बर १३ बस्ने बर्ष ३१ को नविन राम रहेको बारा प्रहरीले जनाएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ नयका टोलमा सार्वजनिक स्थलमा पोखरी खन्ने क्रममा कातिक ९ गते प्राचिन कालका विष्णु भगवानको मूर्ति भेटिएका थिए । भेटिएको मूर्ति पुरातत्वीक बिभागको सम्पर्क कार्यालय वीरगंजमा जानकारी दिएर सोही ठाउँमा रहेका कुखुरा फार्मको एउटा गोठमा राखिएको थियो । पोखरी खन्ने जेसिबि चालक रामले सो मुर्ती कातिक २६ गते मंगलवार राती चोरीगरी सलार्ही स्थित आफनै घरमा राखेको सूचनाको आधारमा बारा प्रहरीले शुक्रवार उनलाई पक्राउगरी आवश्यक कारवाही प्रकृया अगाडी बढाएको छ । सिम्रौनगढमा यसरी मूर्ति विगतमा समेत चोरी हुँदै आएको छ, यहाँको ऐतिहाँसिक सम्पदाको संरक्षण गर्न तीन वटै तहको सरकार उदासिन रहेको स्थानीय जनताहरुले आरोप लगाएका छन् ।