बाँकी रहेका योजनाहरूमा उपभोक्ता समितिको व्यापक त्रुटीपूर्ण

जनकपुर, ३० कातिक । प्रदेश २ मा भुक्तानी हुन बाँकी रहेका योजनाहरूमा उपभोक्ता समितिले व्यापक त्रुटीपूर्ण काम गरी मनलाग्दी मूल्याङ्‍कन गरेको पाइएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश सरकारद्वारा सञ्चालित भई सम्पन्‍न भएर भुक्तानी हुन बाँकी रहेका ८ सय ४२ योजनमा प्राविधिकले करिब ८ करोड बढी रकम मूल्याङ्‍कन गरेको पाइएको हो । भुक्तानी हुन बाँकी रहेका योजनाहरूको स्थलगत अनुगमन तथा मूल्याङ्‍कन गर्न सभामुख सरोज कुमार यादवको संयोजकत्वमा गठित १० सदस्यीय उच्चस्तरीय संसदीय छानविन विशेष समितिले ७ करोड ७० लाख ६६ हजार ८ सय ६९ रुपैयाँ बढी मूल्याङ्‍कन गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । भुक्तानी बाँकी रहेको योजनाको प्राविधिकले ९४ करोड २२ लाख ९६ हजार ९ सय १४ रुपैयाँ मूल्याङन गरेकोमा प्राविधिक टोलीसहितको समितिले ८६ करोड ५२ लाख ३० हजार ४५ रुपैयाँको मूल्याङ्‍कन गरेको छ । समितिले गत वर्षको योजनाको फ्रिज भएकै रकमबाट मूल्याङ्‍कन गरेको रकम भुक्तानीका लागि प्रदेश सरकारलाई निर्देशन दिएको छ । प्राविधिक त्रुटिले भुक्तानी नभएका योजनाहरूको रकम रोकिएपछि सरकारमाथिको जनविश्वास गुम्ने ठहर गर्दै समितिले भुक्तानीका लागि प्रदेश सभामा प्रतिवेदन बुझाएको हो। शुक्रबार बसेको प्रदेशसभा बैठकमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सञ्चालित भई भुक्तानी हुन बाँकी रहेका २ सय ६ योजनामा सबैभन्दा बढी २ करोड ४९ लाख ६१ हजार २ सय ४१ रुपैयाँ बढी मूल्याङ्‍कन गरेको पाइएको उच्च स्तरीय संसदीय छानविन विशेष समितिले जनाएको छ ।