साढे ३५ लाख रुपियाँ सहित दुई जना पक्राउ

बारा, ३ मंसिर । स्रोत नखुलेको साढे ३५ लाख रुपियाँ सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर–७ का झवानी टोलका सुनिल महतोे नुनिया र राजन कुमार दुवे रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो । सोमवार दिउसो डेढ बजे ना २६ प १६४९ को मोटरसाईकलमा दुई जना व्यक्तिले अबैध रकम ल्याई रहेको सूचनाको आधारमा प्रहरी चौकी लंगडाचोक र विशेष प्रहरी ब्यूरो समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले पचरौता नगरपालिका वडा नम्बर–८ लंगडाचोकमा सो मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट श्रोत नखुलेको ३५ लाख ५० हजार रकम बरामद भएको उपरीक्षक खनालले जानकारी दिनुभयो । चेकजाँच गर्दा दुबै जनाको शरिरको विभिन्न भाग र साथमा रहेको झोलाबाट एक हजार दरको १ हजार दुई २ सय थान र पाँच सय दरको ४ हजार ७ सय थान फेला परेको तथा दुबैको मोबाईलमा बिभिन्न बैंक तथा अन्य कागजातबाट करोडौ रुपियाँको कारोवार गरेको फोटोकपी र भ्वाईस् रेर्कड फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनासँग अलगअलग सोधपुछ गर्दा उनीहरुले सही श्रोत खुलाउन नसकेकाले उनीहरु माथि बैंक तथा वित्तिय संस्था सम्बन्धि कसुर, २०७३ अन्तर्गत मुद्दा चलाइएको तथा यसबारे बारा जिल्ला अदालतबाट मंगलवार ५ दिनको म्याद थपगरी अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।