हङकङलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं– साविक विजेता नेपाल थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डको चियाङमाईमा शनिबार भएको सेमिफाइनल खेलमा नेपालले हङकङलाई चार विकेटले हरायो ।

हङकङले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा आशिष भट्टराईले सर्वाधिक १७ रन बनाए । रोहन दुदराज विकले १४, कृष्ण कार्कीले १२, दिपक बोहोराले ११ र सुवाष आएरले १० रन बनाए ।

बलिङमा हङकङका ब्रिजनरेन सिवपुरीले तीन विकेट लिए । आहान खान्हाई त्रिवेदीले दुई विकेट लिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ३२.२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो । हङकङका लागि आरुश भगतले सर्वाधिक ४३ रन बनाए । अन्य ब्याट्सम्यान जम्न सकेनन् ।

हङकङलाई सस्तैमा समेट्न नेपालका निखिल कुमार सिंहले चार विकेट लिए । विशाल कुमार पटेल र रमेश कुर्मीले दुई दुई तथा तिलक राजभण्डारीले एक विकेट लिएका थिए । फाइनलमा नेपालले सिंगापुर र मलेसियाबीच विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।