मकवानपुरको चेपाङ बस्तीमा अब होमस्टे बनाइने

हेटौंडा– अति सिमान्तकृत चेपाङ जातिको सस्ंकृति झल्काउने गरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी वर्ष होमस्टे निर्माण गर्ने भएको छ । चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको राक्सिराङमा आगामी आर्थिक वर्षमा होमस्टे निर्माण गरी पर्यटन प्रवद्र्धन गर्ने योजना बनाइएको हो ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७६/०७७ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा चेपाङ तथा तामाङ होमस्टे निर्माण गर्ने योजना समावेश गरिएको छ । सिमान्तकृत समुदायको सूचीमा रहेका चेपाङ जातीहरुको सस्ंकृतिलाई संरक्षण गर्दै आन्तरिक पर्यटन भित्र्याउने उद्देश्यले होमस्टे बनाउन लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आगामी आर्थिक वर्ष ०७६/०७७ मा गाउँपालिकामा तामाङ र चेपाङ जातिको सस्ंकृति, भेषभुषा, रहनसनलाई पर्यटनको रुपमा प्रवद्र्वन गर्दै उनीहरुको संरक्षण र गाउँको विकासमा टेवा पु¥याउन होमस्टे निर्माण गरिन लागेको बताए । होमस्टे निर्माणबारे डिपिआर तयार गरी एक वर्षभित्रमा निर्माण कार्य सक्ने योजना रहेको अध्यक्ष मल्लले सुनाए । होमस्टे निर्माण गर्नको लागी गाउपालिकाले १५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

गाउँपालिकाभित्रको ५० घरसम्म रहेको कुनै एक बस्तीलाई छनौट गरी होमस्टे निर्माण गरिने योजना बनाइएको छ । चेपाङ जातिको संस्कृततिलाई जोगाई उनीहरुको र गाउपालिकाको आयस्तर उकास्ने उद्देश्यले गाउँपालिकाले सो योजना बनाएको बताइएको छ ।

यस्तै गाउँपालिकामा चेपाङहरुको राजारानीको दरबार पनि गाउँमा अवस्थित रहेकोले त्यसलाई पनि व्यवस्थित बनाउने योजना अघि सारेको छ । सिमान्तकृत जातिको राजारानीको दरबार हेर्नलाई छिमेकी मुलुक भारतबाटसमेत पर्यटक आउने विश्वास गाउँपालिकाले लिएको छ । यसैगरी राक्सिराङ गाउँपालिकाले पर्यटन प्रवद्र्वनको लागि गाउँमा रहेको चमेरो गुफा, जलपरी झरना, भिम्बुङ, पाईराङ, गुप्तेश्वरी गुफा, लंङगुडेडाँडा दरबार, भुक्टी डाँडा, लालिगुराँस पार्क जस्ता अन्य सम्भाव्य क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्ने योजना पनि नीतिमा उल्लेख गरेको छ ।

गाउपलिका अध्यक्ष मल्लले गाउँपालिकामा पर्यटकीय स्थलहरु अथाहा मात्रामा भएपनि पर्याप्त बजेटको अभावमा विकास गर्न नसकिएको बताए । उनले गाउँपालिकामा ९० वटा भन्दा बढी पर्यटकीय स्थल भएपनि तिनीहरुको संरक्षण र विकास गाउपालिकासँग आर्थिक स्रोतको अभाव भएको बताए । गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७६/०७७ मा पर्यटन प्रवद्र्वनको लागि करिब एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पर्यटनको लागि गाउँपालिकाको बजेट पर्याप्त नभएको कारण केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेको अध्यक्ष मल्लले जानकारी दिए ।