क्रसरलाई स्टक प्रमाणित गराउन निर्देशन

हेटौंडा–मकवानपुरका विभिन्न स्थानीय तहमा सञ्चालित क्रसर उद्योगहरुको नदीजन्य पदार्थ स्टक प्रमाणित गराउन जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय तहलाई निर्देशन दिएको छ । क्रसर व्यवस्थापन र नियमनमा स्थानीय तहहरुले ध्यान नदिएको भन्दै जिल्ला समन्वय समितिले स्थानीय तहलाई त्यसबारे कटिवद्ध भएर लाग्न निर्देशन गरेको हो । \

जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय तहका प्रमुखको बैठक राखी शनिबार निर्देशन दिएका हुन् । क्रसर उद्योगहरुले ठेक्का लागेको मितिदेखि जेठ मसान्तसम्म उत्खनन् गर्न पाउँछन् । साथै उनीहरुले जेठ मसान्तभित्रै स्टक प्रमाणित पनि गरिसक्नुपर्नेछ । त्यसको नियमनको जिम्मा सम्बन्धित स्थानीय तहको हुन्छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख तथा जिल्ला स्तरीय ढुंगा, गिट्टी, वालुवा अनुगमन तथा समन्वय समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्षको अन्त्य हुनै लागेको अवस्थामा स्टक व्यवस्थापन गन र नदीजन्य पदार्थ घाटगद्दी गरेर मात्र विक्री गर्ने प्रणाली विकास गर्न पनि स्थानीय तहलाई निर्देशन दिएको हो । ठेक्का अवधि सकिएपछि घाटगद्दिमा रहने पदार्थ स्वत सम्बन्धित स्थानीय तहको हुने व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा पनि जिल्ला समन्वय समितिले जोड दिएको छ ।

बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगायतको सहभागिता रहेको थियो ।