सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

पर्सा — पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ । ४३ वर्षीय थपलियाले शनिबार बिहान करिब साढे १० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणमा सहकर्मीहरूलाई आफूलाई असजिलो महसुस भएको बताएका थिए ।साइक्लिङ गरेर करिब १० बजे कार्यालय फर्केका थपलियाले सहर्मीहरूलाई ‘छातीमा असजिलो महसुस भएको’ भनेका थिए ।लगत्तै बेहोस भएका उनलाई उपचारका लागि मेडिसिटी अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो । चिकित्सकले करिब १ घण्टा उपचार गरे पनि उनलाई बचाउन नसकेको बताएका छन् । चिकित्सकले थपलियालाई हृदयाघात भएको जानकारी दिएको उनका एक सहकर्मी अधिकृतले बताए । नुवाकोट पुर्ख्यौली घर भएका उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए ।