मनहरी दूर्घटना अपडेटः घाइते निर्मलाको मृत्यु, अरु २ जना गम्भीर

हेटौंडा–पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित जैसिङमा शनिबार बिहान तीनवटा ट्रक ठोक्किएर भएको दूर्घटनामा एक २५ वर्षीया महिलाको मृत्यु भएको छ । गम्भीर घाइते हेटौंडा–३ बसामाडीकी निर्मला राईको उपचारको क्रममा भरतपुरमा शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दूर्घटनामा घाइते अन्य ११ जनाको भरतपुरमा उपचार भइरहेको छ । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । हेटौंडाबाट नारयणगढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । दुई ट्रक ठोक्किएपछि नारायणगढतर्फबाटै आइरहेको ना ६ ख ९९०७ नम्बरको तेस्रो ट्रक पनि ठोक्किएर दूर्घटना भएको हो ।

बिहान ९ बजेको समयमा उक्त दूर्घटना भएको हो । दूर्घटनामा घाइते हुनेहरुमा कपिलबस्तुका बर्ष–१७ का दिपक सुनुवार, हेटौँडा कमानेकी १६ बर्षकी पूजा मोक्तान, हेटौंडा ३ बस्ने बर्ष २० की सिला राई, मनहरी ६ बस्ने बर्ष २८ की धनमाया राई, धादिङ बस्ने बर्ष २० का सन्तोष बिडारी, मनहरी ६ बस्ने बर्ष २४ की कमला तामाङ, सोही स्थान बस्ने क्रमश बर्ष ३५ की कृष्णमाया राई, बर्ष २५ की दिनमाया राई र बर्ष ५ का सनिल राई रहेका छन् ।

त्यस्तै ना ६ ख ३३७४ नम्बरको ट्रक चालक रौतहट जिल्ला बस्ने बर्ष २७ को उमेश भुजेल र ना ६ ख ९७०७ नम्बरको ट्रक चालक दाङ बस्ने बर्ष ३५ को सरोज चौधरी पनि घाइते भएका छन् । ना ४ ख १९९२ नम्बरको ट्रक चालक भने फरार रहेको प्रहरीले जनाएको छ । दूर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएको थियो । प्रहरीले दूर्घटनाग्रस्त ट्रक हटाएर राजमार्ग खुलाएको थियो । एक ट्रकले अर्कोलाई ओभरटेक गर्ने क्रममा दूर्घटना भएको प्रारम्भीक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्:

मनहरी दूर्घटना अपडेट, १२ जना घाइते (नामावलीसहित)

मनहरीमा ३ वटा ट्रक ठोक्कियो, १० जना घाइते (दूर्घटनास्थलका तस्बीरहरुसहित)