एमालेले अनिश्चितकालीन रौतहट बन्द गर्ने

गौर। नेकपा एमालेले अनिश्चितकालका रौतहट जिल्ला बन्द गर्ने घोषणा गरेको छ । गठबन्धन सरकारले एमाले पार्टी पङ्क्ती र नेता प्रभु साहलाई बदनाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै जिल्ला बन्द गर्ने घोषणा गरिएको हो । शुक्रबार जिल्ला अध्यक्ष त्रिभुवन साह’अमर’ ले प्रेस विज्ञप्ति जारी गरी स्थानीय प्रशासनको षडयन्त्रको छानबिन गरी कारवाही गर्न गृह मन्त्रालय लगायत माथिल्लो निकायको ध्यानाकर्षण गराएका हुन् । गाडी दुर्घटनाको विषयमा अनावश्यक एमाले स्थायी कमिटी सदस्य प्रभु साहको नाम जोडेर जिल्लाको सिडियो र एसपी लगायतका प्रशासनले बदनाम गरिरहेको अध्यक्ष साहको भनाई छ । गाडी दुर्घटना हुँदा गाडीमा सवार चालक समातिदा समेत उसलाई दोषी मान्ने र छानबिन गरी न्याय दिलाउनका सट्टा प्रशासनले प्रभु साहको नाम जोडेर अनरगल प्रचार गरेको अध्यक्ष साहको विज्ञप्तिमा उल्लेख छ । केही दिन अगाडि नेकपा एमालेबाट निर्वाचित उपमेयर र वडाध्यक्षलाई अपशब्द बोल्दा सिडियोले माफि मागेको, अनावश्यक रुपमा साहका स्वकिय विजय यादवलाई फसाउन खोज्दा डिएसपीले माफी माग्नुपरेको घटना जीवितै रहदा गठबन्धनको इसारामा सिंगो एमाले पङ्क्तिमाथि आक्रमण सुरु गरेकोले रौतहट बन्द सहित संघर्षको कार्यक्रम अगाडि बढ्ने अध्यक्ष साहले बताएका छन् । “सवारी चालकले गुडाइरहेको गाडीबाट दुर्घटना भएको, चालक घटनास्थलबाटैं तत्काल प्रहरीद्वारा समातिएको विषय जगजाहेर हुँदा समेत कांग्रेस गठबन्धनको ईशारामा जिप्रका र जि. प्रहरी कार्यालयको प्रमुख समेत संलग्न रही यसरी लठैत शेलीमा हाम्रा पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री क. प्रभु साहलाई बदनाम गर्ने गराउने अभिप्रायले प्रेरित भई गरिएको षडयन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । दुर्घटनाको गहण अनुसन्धान गरी सत्यतथ्य पता लगाएर पीडितलाई उचित क्षतिपुर्तिसहित न्याय दिलाउनको सट्टा स्थानीय प्रशासनले प्रभु साहको भाईको गाडीबाट मान्छे मारिएको भनी मानहानी गर्ने बदनियतपूर्ण कार्यको घोर भर्त्सना गर्दछौँ ।” वक्तव्यमा उल्लेख छ । “यसरी क. प्रभु साहसंग जोडिएकैं कारण कहिले उपमेयरलाई दुर्व्यवहार गरी सीडीओ (प्रजिअ) ले माफी माग्ने त कहिले उहाँको स्वकीय सचिवलाई अवैध तरिकाले नियन्त्रणमा लिई डीएसपीले माफी माग्ने तर क. प्रभु साह विरुद्ध गठबन्धन सरकारको ईशारामा कठपुतली भई गलत मनसायवश रौतहट प्रशासनले विगत लामोसमयदेखि गर्दै आएको निचतापूर्ण दुस्प्रयास एवं षड्यन्त्रमा कुनै सुधार (कमी) नल्याउने कार्यको जति घोर भर्तस्ना/निन्दा गरेपनि कमैं हुनेछ ।” थप उल्लेख गर्दै अध्यक्षले लेखेका छन् । उनी थप्छन् “त्यसैले, देशमा अहिले महंगी, भ्रष्टाचार र श्रृङ्खलाबद्ध रुपमा अपराधिक गतिविधि गराईरहेको मापसे गठबन्धनको सरकारले जसरी जिल्लाको सीडीओ, एसपीलाई आफ्नो कठपुतली बनाई रौतहटमा कानुनी राज्य एवं न्यायको धज्जी उडाउदै एमाले पार्टी पंक्ति र क. प्रभु साह विरुद्ध योजनाबद्ध रुपमा षडयन्त्र गरिरहेको छ, यी र यस्ता गलत क्रियाकलापलाई रोक्न तथा आम जनतामा कानूनी राज्यको प्रत्याभूति दिलाउनका लागि शिघ्र यस घृणित अपराधमा संलग्न सीडीओ, एसपी सहितको कर्मचारीहरुलाई तत्काल निलम्बन गरी यस घटनासंग सम्बन्धित सम्पूर्ण सत्यतथ्य विवरण निष्पक्ष रुपमा छानबीन गरी बाहिर ल्याउन नेपाल सरकार सहित सम्बद्ध/सम्बन्धित सबै पक्षको एकमुष्ट गम्भीर ध्यानाकर्षण गराउदै गृह मन्त्रालयसँग विशेष रुपमा जोडदार माग गर्दछौँ । माथिल्लो तह/निकायबाट यस गलत रवैयाको समयमैं उचित छानबीन नभए चरणबद्ध संघर्ष सहित रौतहट जिल्ला अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने ब्यवहोरा अनुरोध समेत गर्दछौँ ।”