नेपालीलाई भारतीय एसएसवीले कुटेपछि बारामा झडप, ६ नेपाली घाइते

बारा, २३ बैशाख । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर–४ बलिरामपुर टोलमा खेतमा गएका एक नेपाली कृषकलाई भारतीय एसएसवीले अनाहकमा कुटपिट गरेको विषयलाई लिएर नेपाली र भारतीय विच झडप भएको छ । मंगलवार भएको झडपमा केही नेपाली घाइते भएका छन् । झडपमा अशोक कुमार साहको टाउकोमा चोट लागेको छ । भने, कमलेश शर्मा, हिरालाल शर्मा, दीपक शर्मा, छोटेलाल साह, मदन साह लगायत घाइते छन् । अन्यको अवस्था सामान्य रहेको विश्रामपुर गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष मदन प्रसाद यादवले जानकारी दिए । नेपाल भारत सीमा क्षेत्र नजिकै दशगजासँग जोडिएको इलाकामा बलिरामपुरका स्थानीय छोटेलाल साहको १५ कठ्ठा खेत रहेको र पानी परिरहेकाले खेत जोत्नका लागि योग्य छ कि छैन भनी उनी हेर्न गएको बेला साहलाई भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीका जवानले कुटपीट गरेको पिडितले बताएका छन् । आफूलाई कुटपिट गरेपछि घटनाको बारेमा गाउँमा जानकारी गराएसँगै दोहोरो झडप भएको थियो । एसएसबीविरुद्ध नेपालीहरु जाइलागेपछि भारतीय पनि लाठी भाटा लिएर आएको र त्यसपछि सीमा क्षेत्रको अवस्था तनावपूर्ण बनेको थियो । पछि दुवै तर्फका सुरक्षाकर्मीले स्थानीयलाई सम्झाइबुझाइ गरेर स्थिति सामान्य पारेको बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताए ।