प्रदेश ३ का १० जिल्लामा शितभण्डार बन्दै, चारवटा भेटेनरी एम्बुलेनस आउँदै

हेटौंडा–आर्थिक वर्षको अन्त्यतिर आएर प्रदेश ३ सरकारले विभिन्न दश जिल्लामा शितभण्डार निर्माणको प्रक्रिया सुरु गरेको छ ।

प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले काठमाडौं उपत्यका भित्रको तीन जिल्लाबाहेक अन्य जिल्लामा शितभण्डार निर्माण गर्ने भएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको ५२ करोड रुपैया“ले शितभण्डार निर्माण गर्न लागिएको हो । मन्त्रालयका प्रवक्ता निर्मल गदालका अनुसार नुवाकोट, दोलखा र सिन्धुपाल्चोकमा दुई÷दुईवटा तथा धादिङ, मकवानपुर, सिन्धुली, रसुवा, रामेछाप, चितवन तथा काभ्रे एक÷एकवटा शितभण्डार निर्माण प्रक्रिया सुरु हुने अन्तिम चरणमा पुगेको छ । ‘सबैस्थानमा टेण्डर भइसकेको छ । हामीले स्थानीय तहलाई एक महिने सूचना नै जारी गरेर शितभण्डार माग गर्न आग्रह गरेका थियौं । मागको आधारमा हामीले स्थानीय तह छनौट गरेका हौं ।’ उनले भने ।

उनका अनुसार नुवाकोटको विदुर र वेलकोट, धादिङको वेनिघाट, मकवानपुरका थाहानगरपालिका, दोलखाको जिरी र दोलखा, सिन्धुलीको सुनकोशी, रसुवाको धैवुङ, रामेछापको रामेछापन नगरपालिका, सिन्धुलीको इन्द्रावती र लिसंखु पाखर, चितवनको खैरहनी तथा काभ्रेको काभ्रेमा शितभण्डार निर्माण गर्न लागिएको हो । प्रदेश सरकारले निर्माण गर्ने शितभण्डार तीनवटा तौल क्षमताका हुनेछन् । उनका अनुसार दुईसयदेखि पाँचसय मेट्रिकटन क्षमताको, पाँचसय मेट्रिकटन तथा एकहजार पाँचसय मेट्रिकटन क्षमताका हुनेछ ।

एककरोड २५ लाख खर्चेर भेटेनरी एम्बुलेन्स
प्रदेश सरकारले यसै आर्थिक वर्षमा चारवटा भेटनरी एम्बुलेन्स खरिद गर्ने भएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको यस योजनाअन्तर्गत् यसवर्ष चारवटा भेटनरी एम्बुलेन्स खरिद गर्न लागिएको हो ।

प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भेटनरी एम्बुलेन्स खरिद गर्नका लागि टेण्डर समेत आव्हान गरिसकेको छ । करिब एककरोड ५ लाख रुपैयाँ खर्चेर भेटनरी एम्बुलेन्स खरिद गर्न लागिएको मन्त्रालयका प्रवक्ता निर्मल गदालले जानकारी दिए । ‘हामीले मन्त्रालय मातहतमा राखेर एम्बुलेन्स सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौं । तर, सञ्चालन कार्यविधि भने बनेको छैन ।’,

उनले एम्बुलेन्सभित्र पशुको उपचारका लागि आवश्यक प्राथमिक औषधी रहने बताए । ‘हामीले प्रत्येक एम्बुलेन्समा एउटा डाक्टरको समेत व्यवस्था गर्नेछौं ।’, उनले आगामी आर्थिक वर्षमा पनि भेटेनरी एम्बुलेन्स खरिद गर्ने र प्रदेशभर रहेका भेटनरी अस्पताललाई समेत उपलब्ध गराउने तयारी मन्त्रालयले गरिरहेको जानकारी दिए ।