काठमाडौं, माघ २९ । पन्ध्र बर्षसम्म नेकपा एमालेको नेतृत्व गर्नुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई साथ लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भई छुट्टै समुह गठन गर्नुभएका पुष्पकमल दाहाल प्रचण्डले दुई महिना नबित्दै पूर्वएमालेका नेता कार्यकर्तामाथि अपमान गर्न थाल्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिन र हटाउनका लागि मात्रै नेता नेपालको साथ चाहिने भएकोले उहाँकै साथमा पार्टी बिभाजन गर्नुभएका प्रचण्डले दुई महिना नबित्दै सार्वजनिक मञ्चदेखि सवैतिर आफू सुप्रिम कमाण्डर बाँकी सवै आफ्ना सहयागी हुने भन्ने सन्देश दिँदै पूर्वएमाले नेता कार्यकर्ताको अपमान गर्न थाल्नुभएको हो ।

प्रचण्डले चिनियाँ टोली नेपाल भ्रमणमा आउँदा नै माधव नेपाललाई हाताहाती अध्यक्ष चाहिएकोले भनिदिएको तर अध्यक्ष नभएको बताउँदै होटलमा भेटन बोलाउन लगाउनु भएको थियो । प्रचण्डको सोही भनाई मानेरचिनियाँ टोलीले बाबुराम भट्टराईलाई समेत घरमै गएरभेटे पनि नेता नेपाललाई होटलमा बोलाएर भेटेको थियो । पछिल्लो समय एमाले कार्यकर्ता तान्न माधव पहिलो बरियताको अध्यक्ष भन्दै प्रचार गरेपनि ब्यवहारमा भने नेपाल प्रचण्डको द्वारपालमा सिमित गरिएको तथ्यहरुले देखाएको छ । पूर्वएमालेलाई अपमान गर्ने दृष्य बुधवार काठमाडौंमा आयोजना गरिएको सभामा प्रष्टै देखिएको छ । जहाँ पूर्वएमाले अपमानित भएको छ भने पूर्वमाओवादी समूह हावी देखियो ।

काठमाडौंमा आयोजना भएको विरोधसभामा पूर्वएमालेको भन्दा दोब्बर बढी वक्ता राखेर पूर्वमाओवादी समूहले माधवलगायतका नेतालाई प्रचण्डको सहायकका रुपमा रहेको प्रष्ट पारेको छ । पार्टीमा एकाधिकार जमाउने प्रचण्डको प्रयास स्वरुप नै यस्तो गरिएको हो । विरोधसभामा प्रमुख वक्ता रूपमा माव भने पनि उदघोषकले प्रचण्डलाई घोषणा गरिदिए । प्रचण्डकै निर्देशनअनुसार सञ्चालक लिलामणि पोखरेलले सुनियोजित रुपमा यस्तो घोषणा गर्नुभएको हो ।

हिजोको सभामा प्रमुख बक्ता अध्यक्ष प्रचण्ड, स्थायी कमिटी सदस्य लिलामणी पोखरेल सञ्‍चालक र अर्का नेता सभापति हितबहादुर तामाङ अध्यक्ष हुनुहुन्थ्यो । पूर्वमाओवादी नेताहरू अग्रस्थानमा देखिन्दा पूर्वएमालेका नेता तथा आन्दोलन परिचालन समितिका सहस‌ंयोजक योगेस भट्टराई भने मञ्‍चमै देखिनुभएन । प्रचण्डको आदेशपालक नबन्ने र आफ्नो हैसियत राख्ने भएको कारण आन्दोलन परिचालन समितिका सहस‌ंयोजक योगेशलाई मञ्चमै आउन नसक्ने बातावरण बनाएर बहिष्कार गर्न बाध्य पारिएको थियो ।

पार्टीको बैठकको सहमतिअनुसार कार्यक्रमका मुख्यवक्ता माधव नेपाल हुनुपर्ने भउपनि कार्यक्रम सञ्‍चालक लिलामणी पोखरेलले अध्यक्ष प्रचण्डलाई मुख्य वक्ता घोषणा गरेपछि केहीबेर खैलावैला भयो । प्रचण्ड नायक अरु सहायक भन्ने घोषणा गरिसकेपछि माफी मागेको नाटक गर्दै होहल्ला रोक्ने काम भएको थियो । लिलामणिले प्रमुख बक्ता घोषणा गर्दा प्रचण्ड मुस्कुराएर समर्थन गर्नुभएको थियो ।

वक्तामा पनि पूर्वमाओवादीहरु हावी भएका छन। पूर्वमाओवादी समूहबाट ११ जनाले बोल्ने अवसर पाउँदा पूर्वएमालेको भागमा पाँच जना मात्र परेको थियो। पूर्वएमालेबाट अध्यक्ष माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य रघुजी पन्त, केन्द्रीय सदस्य रामकुमारी झाक्री र जीवनराम श्रेष्ठले मात्रै बोल्न पाए। पछिल्लो समय पूर्वएमालेका नेता जीवनराम र रामकुमारी अव प्रचण्ड नै नायक भन्दै उतैतिर लागिसक्नु भएको छ । सोही कारण योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुलाई कुनै हैसियत छैन भन्ने देखाउन उहाँहरुकै कार्यकर्ता, जो प्रचण्डतिर लागिसक्नु भएको छ, अवसर दिइएको छ ।

सभामा पूर्वमाओवादीबाट अध्यक्ष प्रचण्डसहित प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र देवप्रसाद गुरुङ, केन्द्रीय सदस्यहरू रामचन्द्र झा, अञ्‍जना बिशंखे, जयपुरी घर्तीमगर, सन्तकुमार चौधरीलगायतले बोल्नुभएको थियो । यसबाट पनि सो समुहमा पर्वएमालेको हैसयत आधा भन्दा कम र मर्यादा पनि आधा भन्दा कम रहेको प्रष्ट पारेको छ ।साभार जनता टाइम्स