मौलापुर नगरपालिकामा संक्रमित राख्न २५ बेडको आइसोलेशन निर्माण

रौतहट । भदौ २२ गते
रौतहटको मौलापुर नगरपालिकामा २५ सैयाको आइसोलेशन निर्माण भइरहेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको र सम्भावित संक्रमितका लागि पूर्वतयारीको रुपमा आइसोलेशन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।मौलापुरस्थित लक्ष्मिनिया माध्यमिक विद्यालयमा २५ सैयाको सुविधासम्पन्न आइसोलेशन वार्ड यस क्षेत्रका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी निर्माण गर्न लागिएको नगरप्रमुख रीनाकुमारी साहले बताइन् ।
यसभन्दा पहिले लकडाउनको समयमा क्वारेन्टाइन निर्माण गरी नगरवासीलाई सेवा प्रदान गरेको र अहिले स्थितिमा आइसोलेशन आवश्यक रहेको प्रमुख सागले जीकिर गरिन् ।
आइसोलेशन निर्माण तथा व्यवस्थापनका लागि एउटा समिति निर्माण गरिएको छ । आवश्यक पर्ने औषधि, संक्रमितले प्रयोग गर्ने सामान, मास्क, सेनिटाइजरसहित आवश्यकता बमोजिम अक्सिजन सिलिन्डर राखिने नगर उपप्रमुख गौरीशंकर जयसवालले जानकारी दिए । चिकित्सक, नर्स र दक्ष स्वास्थ्य जनशक्ति चौबीसै घन्टा तैनाथ रहने उनले बताए । कोरोना नियन्त्रणका लागि सरकारले तोकेको सबै मापदण्ड पूरा गरी आइसोलेशन निर्माण हुँदैछ ।