पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या

काठमाडौँ — पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आश्रबोटेमा २ परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार गए राती उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । हत्या गर्न लाग्दा हामफालेर भाग्ने क्रममा १ बालिका घाइते भएकी छन् ।

राससले घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङलाई उद्धृत गर्दै गएराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको उल्लेख गरेको छ । यस्तै धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको राससले उल्लेख गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको पुष्टि गरे । हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ ।

प्रमुख जिल्ला अधिकारी वस्तीका अनुसार हत्याराले ढोका थुनेर सामूहिक हत्या गरेका हुन् ।गाउँलेले थाहा पाउलान् भनेर हत्याराले ढोका थुनेर हत्या गरेर भागेको गाउँलले बताए। ढोका थुनेपछि हामफालेर भाग्न खोज्दा १ जनाको खुट्टा भाँचिएको छ। उनी घाइते छन्। स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

वस्तीका अनुसार गएराति विभत्स घटना भएपनि घटनाबारे जानकारी आज बिहान पौने ६ बजे मात्रै उनलाई आएको थियो। घटनाको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी उपरीक्षकको नेतृत्वमा टोली गएको छ भने प्रदेश प्रहरी कार्यालयले पनि प्रहरी खटाएको छ । तालिम प्राप्त कुकुरको सहायताले हत्याको अनुसन्धान भइरहेको छ । नजिकैको चौकीबाट घटनास्थल २०र२२ किलोमिटर टाढा छ भने सदरमुकामबाट करिव ६० किलोमिटर टाढा पर्छ।