बारामा एक कोरोना संक्रमित भेटियो

बैशाख ३० गते । बारामा एक तथा पर्सा जिल्लामा ३९ जनामा कोरोना संक्रमण देखिएपछि जनजीवन त्रसित भएको छ । बारा र पर्सा जिल्लागरी मंगलबार थप भएका ४० जना र उपचार गराई रहेका बाराको दुई र पर्साको २९ जनागरी वीरगंज नारायणी अस्पतालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । यसअघि गत बैशाख २४ वीरगंजमा २ महिने शिशु सहित एकै परिवारका १७ जनालाई कोरोना संक्रमण देखिएको थियो । उनीहरुको उपचार नारायणी अस्पतालको आईसोलेशनमा भई रहेको बेला मंगलबार बारा जिल्लामा एक तथा पर्सा जिल्लामा ३९ जना ब्यक्तिमा संक्रमण भेटिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनु भयो । नयाँ थपिएका संक्रमित मध्ये अधिकांश वीरगंज महानगरपालिका वडा नम्बर–१, २ र ३ का रहेका छन् । भने, बारामा भेटिएका १४ बर्षिय यूवा वीरगंजको ईनर्वामा रहेका पसलमा काम गर्दै आएका थिए । उनको घर बाराको बिश्रामपुर गाउँपालिका–४ बलिरामपुर टोलमा रहेकाले सो टोलमा प्रहरीको निगरानी बढाइएको बाराका प्रहरी उपरीक्षक कृष्ण कुमार पगेनीले बताउनुभयो । कोरोना संक्रमित यूवाका परिवारको सबै सदस्यलाई बिश्रामपुरको क्वारेन्टाईनमा आजैदेखि रािखएको छ । नयाँ थप संक्रमित देखिएकाहरुलाई नारायणी अस्पतालको आईसोलेशनमा ल्याउने तयारी भई रहेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो । वीरगंजमा ठूलो संख्यामा एक साथ संक्रमित भेटिएपछि सर्वसाधारण लगायत स्थानीय, उद्योगी व्यवसायी, सञ्चारकर्मीमा चौतर्फी सन्त्रास छाएको छ । आज दिउँसोदेखि कलैया तथा वीरगंज बजारमा समेत चहलपहलमा कमी आएको छ ।