स्मार्ट सिटि निजगढमा बन्दै

आर्दशवाणी संवाददाता । बारा, ९ मंसिर । निजगढ नगरपालिकाको बिशेष पहल र आग्रहमा नेपाल सरकार सहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण बिभागको लगानी रहेको स्मार्ट सिटि परियोजना अन्तर्गत निजगढमा सडक निर्माण कार्यले तीव्रता पाएको छ । परियोजना अन्तर्गत निजगढका बिभिन्न तीनवटा सुविधा सम्पन्न आधुनिक सडकहरु निर्माण हुदैछन् । नगरपालिकाको वडा नम्बर ९ क्याम्पस चोकदेखि हस्पिटल चोकसम्म,वडा नम्बर ७ को लिची टोलदेखि योजना टोलसम्म र वडा नम्बर ७ को एकताचोक देखि वडा नम्बर ६ को अयोध्यानगरसम्म सुविधा सम्पन्न आधुनिक शहरी सडक निर्माण भई रहेका छन् । गत असारमा वडा नम्बर ९ स्थित क्याम्पस चोकदेखि हस्पिटल चोकसम्मको सडक निर्माण कार्य थालेको ठेकेदार कम्पनि बज्रगुरु कन्स्ट्रक्सन कम्पनि कुपन्डोल ललितपुरले सोमबारदेखि वडा नम्बर ७ को लिची टोलदेखि योजना टोलसम्म र वडा नम्बर ७ को एकताचोक देखि वडा नम्बर ६ को अयोध्यानगरसम्मको सडक निर्माण कार्यको शुरुवात गरेको छ । सडकको निजगढ नगरपालिकाका मेयर सुरेस कुमार खनालले शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खनालले शहरी सडक निर्माणले तीव्रता पाएसंगै निजगढ स्मार्ट सिटि कार्यान्वयनको रुपमा अघि बढिरहेको उहाँले बताउनुभयो । स्मार्ट सिटि परियोजना अन्तर्गत नगर भित्र अन्य थुप्रै विकासका योजनाहरु भित्रने बताउंदै खनालले विकास निर्माण कार्यमा स्थानीयले पनि सहयोगी भुमिका खेल्नलाई आग्रह गर्नुभयो । नगरपालिका स्मार्ट बन्दै गर्दा नगर भित्रका सडकहरु पनि स्मार्ट सिटिकै मापदण्ड अनुरुप हुनुपर्ने बताउंदै यसका लागि सम्पूर्ण पक्षबाट सहयोगको आवश्यक रहेको बताउनुभयो । सडक निर्माणका लागी १५ करोड ८५ लाख १६ हजार ६ सय ९० रुपैंया ७५ पैसा कुल लागत अनुमान गरिएको छ । आगामी दुई बर्ष भित्र सडक निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनिसंग २०७५ चैत्र २७ गते सम्झौता भएको थियो ।