घर घरमा ग्यास पुर्याउँथे कोरोना संक्रमित

बारा, ३१ बैशाख । बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर–४ बलिरामपुर टोलका कोरोना संक्रमित युवकले ग्यास साइकलमा राखेर उपभोक्ताको घरघरमा पुर्‍याउने गरेको खुलेको छ । पर्सा जिल्लाको वीरगञ्जको इनर्वाचोकमा ग्यास पसल सञ्चालन गर्दै आएका युवकले बलिरामपुर टोलका घरघरमा ग्यास पुर्‍याउने गरेको पाइएको हो । बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरी पाल भेडिहरले भने, ‘बलिरामपुरका १६ वर्षीय युवकले वीरगञ्जमा रहेको पसलबाटै उपभोक्ताको डिमान्ड अनुसार साइकलमा राखेर घरघरमै ग्यास पुर्‍याउने गर्दै आएका थिए । उनको बुबाले पसल सञ्चालन गर्दै आइरहेको भएपनि लकडाउनपछि युवकले नै पसल चलाउँदै आएका थिए । युवकमा कोरोना पुष्टि भएको खबर पाउने वित्तिकै उनको परिवारका अन्य सदस्यलाई क्वारेन्टाइनमा राख्ने विषयमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीसँग सल्लाह भइरहेको उनले बताए । युवकलाई भने उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको उनले बताए । ती युवकका घरमा आमा, बुबा, भाइ र एक जना बहिनी रहेको र उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको उनले बताए ।