मकवानपुरका १२ सहकारी एक हुँदै, चुक्ता पुँजी सवा अर्ब

हेटौंडा–मकवानपुरमा पहिलो पटक ठूलो संख्यामा सहकारी मर्ज हुन लागेका छन् । समान उद्देश्य भएका सहकारीहरु मर्ज गर्दै सहकारीमा दोहोरो सदस्य प्रणाली हटाउने सरकारको उद्देश्यलाई सफल बनाउन मकवानपुरका १२ वटा सहकारी एक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

बचत तथा ऋण सम्बन्धी कारोबार गर्ने महिलाले चलाएका सहकारीहरु मर्ज गर्ने प्रक्रियामा सहकारी अभियन्ताहरु जुटेका छन् । मकवानपुर बचत तथा ऋण सहकारी संघ मकवानपुरकै पहलमा १२ वटा सहकारी एक हुन लागेका हुन् । मकवानपुरको भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ , १३ ,१४, १५ र १७ का गरी १२ वटा बचत तथा ऋण सहकारीहरु मर्ज गर्नेबारे पटक पटक छलफल भइरहेको छ ।

मर्ज हुन लागेका यी सहकारीहरुको कुल पुँजी १ अर्ब १५ करोड ३८ लाख २८ हजार रहेको छ । महिला मिलन, महिला सेवा, आधुनिक महिला जागृति, महिला जागृति, महिला अभियान, महिला एकता, महिला जागरण, महिला आवाज, शुभकामना महिला, महिला जनचेतना, महिला जनशक्ति तथा भुटनदेवी महिला बचत तथा ऋण सहकारी संस्था एकीकरण गर्ने बारे हेटौंडाको हटिया र रातोमाटेमा सहकारीका पदाधिकारीबीच छलफल भएको छ ।

सरकारले ल्याएको सहकारी ऐनमा एउटै ठाउँमा एकै उद्देश्यका सहकारी हुन नहुने उल्लेख गरिएकाले पनि आफूहरुले समान उद्देश्य भएका सहकारी मर्ज गर्ने काम सुरु गरिएको मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिन्ताले बताइन् । उनले व्यवस्थित र गुणस्तरीय सहकारी स्थापना गर्नुको साथै सदस्यहरुको दोहारोपन अन्त्य गर्ने उद्देश्यले पनि आफूहरुले सहकारी मर्ज प्रक्रिया थालेको दोहो¥याइन् ।

मकवानपुरमा हाल विभिन्न उद्देश्यका पाँचसय ६४ वटा सहकारी रहेका छन् । सहकारी विभागले सहकारी संघ–संस्था एकीकरण सम्बन्धी कार्यविधि, २०७० निर्माण गरी मर्ज गर्ने सहकारीलाई विभिन्न सुविधा उपलब्ध गराउने उल्लेख गरेको थियो । कार्यविधिमा एउटै कार्य क्षेत्रभित्र रहेका एक भन्दा बढी सहकारी संस्थाहरु, सञ्चालन लागत घटाएर सदस्यहरुलाई बढी लाभ वितरण गर्न चाहने संस्थाहरु, एउटै विषयसँग मेल खाने खालका संघहरु एकीकरण हुन सक्ने उल्लेख छ ।
एकीकरण गर्दा ठूलो कार्य क्षेत्र रहेको अवस्था भए उपयुक्त स्थानमा सदस्यता सेवा केन्द्र खोल्न दिइने, फरक विषयका संस्थाहरु एकीकरण हुने भएमा त्यस्ता संस्थाहरुलाई सो संस्थाले चाहेको विषय वा प्रकृति राख्न स्वीकृति प्रदान गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

मर्ज हुँदा सञ्चालन खर्च कम हुने र पुँजी वृद्धिसँगै आम्दानी पनि बढ्ने भएकाले सहकारी अगुवाहरुलाई मर्जबाट सबैलाई लाभ हुने विश्वास छ । ‘मर्ज सबैको हितमा हुन्छ भन्ने हाम्रो विश्वास छ’– महिला जनशक्ति सहकारी संस्थाकी अध्यक्ष जुना दंगालले भनिन् । एक हजार पाँच सय भन्दा बढी सदस्य रहेका महिला जनशक्ति सहकारीको कुल पुँजी ८ करोड रुपैंयाँभन्दा बढि छ । सहकारीमा ५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको महिला सेवा बचत तथा ऋण सहकारी सस्ंथाको पुँजी पनि साढे ११ करोड रहेको छ । दुई हजार ७६ जना शेयर सदस्य रहेको सो सहकारीमा ७ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । तर पछिल्लो समय सहकारीहरुमा बढ्दो दाहोरो सदस्यता अन्त्य गर्नको लागि सहकारी मर्ज गर्नुपरेको सहकारी अध्यक्ष सुशीला लामाको भनाइ छ । यसअघि पनि हेटौंडाका विभिन्न ५ वटा सहकारीहरु मर्ज भएर गत वर्ष पञ्चरत्न सहकारी निर्माण भएको थियो । आजको साझाकुरा दैनिकमा श्रीजना नेपालले समाचार लेखेकी छन् ।