विवादमा हुप्रचौर, मेयरले यसकारण चाहेका रहेछन् व्यवसायिक सटर

हेटौंडा– हेटौंडा–४ मा रहेको लोकतान्त्रिक मैदान सयौं राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको मैदान हो । करिब आठ विगाह क्षेत्रफलमा फैलिएको यस मैदानमा हेटौंडा उपमहानगरपालिकाले प्याराफिट बनाउने प्रक्रिया अगाडि बढाएसँगै अहिले विवादमा तानिएको छ । स्थानीयबासी हुप्रचौरलाई खुला राख्नुपर्छ कुनै पनि किसिमको भौतिक पूर्वाधारको विकास गर्न हुँदैन भनेर हेटौंडा उपमहानगरपालिका विरुद्ध आन्दोलन गरिरहेका छन् ।

यता, विभिन्न खेलसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधित्व गर्ने व्यक्तिहरु हुप्रचौरमा प्यारफिट निर्माण गर्नुपर्छ भनिरहेका छन् । हुप्रचौरलाई खुला राख्नुपर्छ भनेर स्थानीयले हेटौंडा उपमहानगरपालिकाविरुद्ध कालो झण्डा गाडिसकेको छ । विभिन्न खेलकुदसँग आबद्ध संघसंस्थाले सोमबार बिहान हुप्रचौरमा प्यारफिट बन्नुपर्छ भन्दै राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम तय गरिसकेका छन् । हेटौंडा उपमहानगरपालिकाको एककरोड रुपियाँ र प्रदेश सरकारको एककरोड रुपियाँ लागतमा हाल मञ्च रहेको स्थानको दायाँबायाँ क्षेत्रमा प्याराफिट शैलीको भौतिक संरचना निर्माण गर्न लागेको उपमहानगरपालिकाले बताइरहेको छ । हाल आन्दोलनमा रहेको स्थानीय सरोकार समितिले हुप्रचौरमा कुनै पनि किसिमको भौतिक संरचना निर्माण गर्न नहुन भन्दै आफूहरु आन्दोलनमा होमिन तयार रहेको बताइरहेको छ ।

हुप्रचौर खुल्ला नै हुनुपर्छ: ठकुरी
हुप्रचौरमा कुनै पनि किसिमको भौतिक संरचना निर्माण गर्न नहुने भन्दै हुप्रचौर सरोकार समितिले आन्दोलन गरिरहेको छ । ‘हुप्रचौर क्षेत्रको प्लटिङ गर्दा नै उक्त स्थानलाई खुल्ला राख्ने गरी गरिएको हो । हुप्रचौरलाई बहुप्रयोग गरिनुपर्छ । त्यसको अस्तित्व मेटाउने काम गर्नहुँदैन ।

हुप्रचौरमा प्याराफिट नै बनाउन लागिएको हो । सबैले नक्सा हेर्दा हून्छ । अहिले राष्ट्रिय झण्डा गाड्ने भनेर हिँडिरहेकोहरु सबै त्यहाँ बनाइने सटर भाडामा लिएर व्यवसाय गर्नुपर्छ भन्नेहरु हुन् ।’, समितिका सदस्य लवराज ठकुरीले भने । ‘हामी कुनै पनि हालतमा भौतिक संरचना बनाउन दिँदैनौं । यदी भौतिक संरचना बनाउन बल प्रयोग भए हामी कानुनी बाटो खोज्छौं ।’

खेल क्षेत्रको भावना बोलेका हौं मकवानपुर जिल्लामा रहेका विभिन्न खेलक्षेत्रसँग सम्बन्धित संघसंस्थाहरु अहिले हुप्रचौरमा प्याराफिट बनाउनुपर्छ भनेर अवाज उठाइरहेका छन् । ‘खेल क्षेत्रको विकासका लागि हुने काममा हामी सदैव सहयोग गर्छौ । सोही अनुरुप हामीले प्याराफिट बनाउन सहयोग गर्न लागेका हौं । अहिले एउटा खेल आयोजना गर्नुपर्दा प्रायोजक खोज्दै हिड्नुपर्ने अवस्था रहेको छ । खेलक्षेत्रको विकास हुँदा हामी कालो झण्डाको पछि लाग्ने होइन । राष्ट्रिय झण्डा बोकेर हिँड्नुपर्छ ।’, फुटबल संघ मकवानपुर अध्यक्ष टीकाराम लामाले भने ।

प्याराफिट बनाउन लागेको होइनः मेयर महत
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हुप्रचौरमा
प्याराफिट बनाउन नलागेको स्पष्ट पारेका छन् । ‘मेरो अध्यक्षतामा हुप्रचौर घेर्ने र गेट बनाउने काम भएको हो । प्राकृतिक विपद् आउँदा बस्ने र कुनै आमसभा गर्ने स्थान त्यही नै हो ।’, उनले भने, ‘त्यहाँ प्यारफिट बनाउन लागेको होइन । व्यवस्थितरुपमा पाँचसय जना मान्छे बसेर खेल हेर्न मिल्न सिँढी बनाउन लागेको हो । प्यारफिट बनाउन दुईकरोड रुपियाँले पुग्दैन ।’

उनले हुप्रचौर अतिक्रमण गर्न खोजेको भनेर बुझ्नु गलत भएको बताए । ‘हाल मञ्च भएको स्थानको दायाँबायाँ खाली रहेको जग्गामा हामीले उक्त सिँढी बनाउन लागेको हौं । हामीले केही सटर निकालेर त्यहाँबाट भएको आम्दानीलाई खेलाडीको हित र खेलक्षेत्रको विकासमा लगउने तयारी गरिरहेका छौं । उक्त आम्दानी उपमहानगरले लिँदैन । कार्यविधि बनाएर खेलकुदलाई दिइनेछ ।’, मेयर महतले भने ।
उनले उक्त भौतिक संरचनाले कसैको घर नछेकिने र कसैलाई असर नगर्ने समेत टिप्पणी गरे । ‘कसैलाई घर छेकिन्छ भन्ने चिन्ता रहेछ । १८ फिट उचाइ मात्र हुन्छ । यसले कसैको घर छेकिँदैन । स्थानीयसँग कुराकानी एकपटक भएको छ । मैले सम्झाएर पठाएको हो । फेरि कस्ले उचाल्यो मलाई थाहा छैन । उहाँहरुको निजी जग्गा भएको भए के बनाउन पाउँछ के बनाउँन पाउँदैन भन्न मिल्थ्यो । हामीले खेल क्षेत्रको विकास गर्छौ भन्दा नपाउने कुनै कारण छ ?’, मेयर महतले भने । ‘अहिले खेलाडी दौडिने ट्रयाकसमेत मेटिँदैन ।’

स्थानीयको भावनाको कदर गर्नुुपर्छः तिमल्सिना
जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनाले स्थानीयको भावना अनुरुप भौतिक संरचनाको विकास हुने बताएका छन् । ‘स्थानीयको भावना अनुरुप खेलक्षेत्रको विकास हुने गरी भौतिक संरचनाको विकास हुन लागेको हो ।

अहिले मैदानलाई व्यवस्थित गर्नेगरी अगाडि बढ्न लागेको हामीले बुझेका छौं । हामीसँगै दुवैपक्षले समन्वय गरेको छैन । मान्छे छिर्न नसक्ने होइन । सजिलै छिर्न निस्कन सक्ने गरी भौतिक संरचना बनाइने हामीले बुझेका छौं ।’, उनले भने ।

नेकपा मौन
हुप्रचौरमा भौतिकसंरचनाका विकास गर्नहुँदैन भन्ने विषयमा हाल देशको नेतृत्व
गरिरहेको नेपाल कम्युनिष्ट पार्टी भने मौन रहेको छ । हेटौंडा–४ मा रहेको नेपाली काँग्रेस, नयाँ शक्ति, राप्रपा, राप्रपा प्रजातान्त्रिक तथा अन्य दलहरुले सहमति जनाएको भएपनि नेकपाले भने जनाएको छैन । हाल उक्त आन्दोलनको अगुवाहरु, हेटौंडा उपमहानगरपालिका, ३ नम्बर प्रदेश सरकार, जिल्ला खेलकुद विकास समिति तथा विभिन्न खेलसँग सम्बन्धी संघसंस्थामा नेकपा निकटका व्यक्तिहरुले नेतृत्व गरिरहेको अवस्थामा भने यस आन्दोलनमा भने नेकपा मौन देखिएको छ ।