एकदशक सम्म मुनाफामा रहेको चिनी मिल अचानक घाटामा गएको भन्दै गरियो सधैंका लागि बन्द

रौतहट । साउन १२ गते
रौतहट जिल्लाको मध्य भाग गरुडा नगरपालिकामा दुई दशक अघि देखि संचालनमा रहेका श्रीराम सुगर मिल्स लिमिटेड आईतवार देखि स्थायी रुपमा बन्द गरिएको छ । श्रीराम सुगर मिल्सको लेटरप्याडमा स्थायी रुपमा बन्द गरिने अत्यन्त जरुरी तिन पृष्ठको सुचना मिल्सको सुचनापाटीमा टाँस भएपछि जिल्लाको सवैभन्दा पुरानो चिनि मिल्स बन्द हुँदा किसानको बक्यौता रकम र त्यसमा कार्यरत ३२५ जना कर्मचारी वेरोजगार भएका हुन् । मिल्स स्थापना भएको एक दशक सम्म मुनाफामा रहेको कम्पनी विभिन्न कारणबस विगत लामो समय देखि घाटामा संचालन हुँदा पनि उद्योगलाई जेनतेन टिकाई राख्नको लागि कम्पनीका संचालकहरुले आफनो तर्फबाट करोडौं रुपैया लगानी गरेपनि विविध कारणले गर्दा कम्पनीको बार्षिक घाटा दर झन् बढ्दै गयो । एक आर्थिक बर्षमा करोडौं घाटा हुन थाल्दा जसको कारण संचालक पक्षबाट चाहँदा नचाहदै उद्योगलाई स्थायी रुपमा बन्द गर्नुपर्ने निर्णयमा पुगेको टाँस गरिएको सुचनामा उल्लेख गरिएका छन् । श्रीराम मिल्स लिमिटेडको हरेक बर्षको घाटा हुँदै जाँदा २०७५र०७६ सम्ममा २,१७,७५,५८,३७६ (दुई अर्ब १७ करोड पचहत्तरी लाख अन्ठाउन्न हजार तिन सय छयत्तरी) पुग्दा मिल्सलाई संचालन गर्न निकै अप्ठ्यारो स्थिति सृजना भएको छ । कम्पनीको आर्थिक अवस्था अत्यन्तै जर्जर भएको, पुंजीको अभाव रहेको हुँदा व्यवस्थापन पक्षबाट विगत ४ महिना देखि उद्योगमा कार्यरत श्रमिक कर्मचारीहरुको पारिश्रमिक भुक्तानी गर्ने अवस्था नरहेको हुँदा कम्पनी संचालक समितिको गत चार दिन देखि चलेको बैठकबाट साउन १० गते बन्द गर्ने सहमतीमा पुगेपछि आज ११ गते मिल्स परिसरमा सुचना टाँस गरिएको हुँदा यसलाई सहज रुपमा लिन व्यवस्थापन पक्षले सरोकारवाला सवै संग आग्रह गरे । साथै उक्त सुचनामा उखु किसानको वक्यौता रकम, श्रमिक कर्मचारीको पारिश्रमिक सन्दर्भमा कम्पनीको चल अचल सम्पत्ती विक्री गरेपछि रकम प्राप्त हुना साथ प्राथमिकताको आधारमा भुक्तानी गरिने छ । सो कार्यको लागि व्यवस्थापन पक्षबाट नेपाल सरकार संग छलफल एवं विक्री वितरण गर्ने सम्बन्धी काम कारवाही अघि बढाएएको मिल्स व्यवस्थापन पक्षको तर्फबाट हस्ताक्षर गरिएको सुचनामा उल्लेख रहेको छ । यता उँखु उत्पादक संघ रौतहटले चिनी मिल बन्द गर्ने निर्णयले हजारौं किसान तथा सयौं श्रमिकको जीवन प्रभावित हुने भएकोले बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन माँग गरेको छ । किसानको बक्यौता रकम भुतानी गर्ने प्रक्रिया अगाडि नबढाए कडा संघर्ष गर्ने चेतावनी दिईएको छ ।