सांसद साहले बुझाए आफनो वर्ष भरिको हिसाब

रौतहट । साउन ११ गते
रौतहट । नेकपा प्रदेश २ का अध्यक्ष र रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफनो निर्वाचन क्षेत्रको वार्षिक काम कार्यवाही को हिसाब किताब जन्तालाई बुझाएका छन् । आज मौलापुरमा एक कार्यक्रम आयोजन गरि आफनो क्षेत्रको २०७६र०७७ को कार्य प्रगति विवरण औपचारिक रूपमा सार्वजनिक गर्नु भएको छ । रौतहटका नेकपा नेताहरूको भेला बोलाईए को थियो । आज पहिलो चरणमा सांसद साहको निर्वाचन क्षेत्र अन्तर्गत मौलापुर र देवाही गोनाही नपाको कार्यकर्ताहरू बिच सार्वजनिक गरियो भने भोली देखि फतुआ विजयपुर गरि क्रमश आफनो निर्वाचन क्षेत्र हरेक जनताको हात हातमा कार्य प्रगति विवरण बुझाउने कार्यक्रम रहेको सांसद साहका स्वकिय सचिव विजय यादव निर्विजले जानकारी गराउनु भएको हो । कार्यक्रमको अध्यक्षता देवाही गोनाही नपाका मेयर प्रत्यासी प्रेम लाल साहले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा माननीय सांसद प्रभु साह रहनु भएको थियो । विशिष्ट अतिथिको रूपमा विधायक कुन्दन कुशवाहा रहेका थिए भने स्वागत मन्तव्य नेकपा मौलापुर नगर कमिटी अध्यक्ष नागेन्द्र साहले राख्नु भएको थियो । ज्ञात अज्ञात सहिदहरूको समझनामा एक मिनेट मौन धारण गरि कार्यक्रम को सुरूआत भएको थियो । कार्य प्रगति विवरण सार्वजनिक गर्ने अवसरमा सम्बन्धित वडाका प्रतिनिधिहरूले योजनाको बारेमा प्रष्याएका थिए । कार्यक्रम को संचालन बौधीमाई नेकपाका मेयर प्रत्यासी र नेकपा प्रदेश कमिटी सदस्य त्रिभुवन साह उर्फ अमरजीले गर्नु भएको थियो । यस अवसरमा प्रदेश सांसद कुन्दन कुशवाहा ,मौलापुर नगरप्रमुख रिना कुमारी साह, कटहरिया नगर प्रमुख सियाराम कुशवाहा,मौलापुर उपप्रमुख गौरी शंकर जयसवाल, देवाही गोनाही नगर उप प्रमुख परनिया देवी पटेल सहितका व्यतीहरूले प्रगति विवरणको बारेमा सल्लाह सुझाव दिएका थिए । रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आर्थिक वर्ष २०७६र०७७ मा आफ्नो निर्वाचन क्षेत्रमा भएका काम कारवाहीको विवरण यस अघि नै सार्वजनिक गरिसकेका छन् । हरेक वर्षझैँ यस पटक पनि आर्थिक वर्षको अन्त्यमा सांसद साहले आफ्नो वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
प्रगति विवरणको उल्लेख रहेका कुराहरू स्(
पछिल्लो समय देखिको विश्वव्यापी कोरोना महामारी र लकडाउनले सृजना गरेको असहज परिस्थितका बावजुद पनि उनको निर्वाचन क्षेत्रमा निकै महत्वपूर्ण कामहरु भएको सांसद साहद्वारा आज (आईतवार) सार्वजनिक प्रतिवेदनमा उल्लेख रहेको छ । सामाजिक दुरी कायम गरी कार्यकर्ताहरूको हातहात प्रतिवेदन दिईएको थियो । केही दिनमा घर घरमा प्रतिवेदन पठाउने बताएईएको छ ।
विगत एक वर्षमा कोरोना महामारी केन्द्रित, विकासका पूर्वाधार निर्माण, जनहित तथा जनपरिचालन, सामाजिक एवं आर्थिक पक्षलगायतका उल्लेखनीय कार्यहरु यस क्षेत्रमा सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । तीन वटा माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउन आवश्यक पुर्वाधार र निर्माण कार्य सुरू गरिएको तथा थप दुई विद्यालयलाई नमुना बनाउने प्रक्रिया सुरू भएको जनाइएको छ ।

साक्षरता अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले मौलापुरमा साक्षरताको लागि सांस्कृतिक कार्यक्रमदेखि देवाही गोनाहीमा नगर स्तरिय अन्तरक्रिया एवं प्रत्येक नगरमा नगरपालिकामार्फत साक्षरता कार्यक्रम संचालन भएको तथा मौलापुरमा प्राविधिक शिक्षालय स्थापना एवं कटहरीया मा.वि. लाई प्राविधिक शिक्षालय संचालनको अनुमतिको व्यवस्था मिलाई शैक्षिक सुधारमा अग्रसर रहेको प्रतिवेदनमा उल्लेख गरिएको हो ।

७ माध्यमिक विद्यालयहरूमा सुचना प्राविधिक प्रयोगशालाको जडान प्रक्रिया सुरू गरिएको र ई–लाइब्रेरीमा जोड दिदै मौलापुरमा पुस्तकालयको स्थापना एवं संचालन भएको छ ।

स्वास्थ क्षेत्रमा सुधार गर्न कटहरीया, मौलापुर र शिवनगरमा पन्ध्र शैयाको अस्पताल भवनको ठेक्का प्रक्रिया सुरू गराइएको र प्रत्येक वडाहरूमा नगरपालिका मार्फत स्वास्थ्य चौकी भवन निर्माणको प्रारम्भ गरिएको छ ।

धुँवा चुलोमुक्त क्षेत्र बनाउन चुनावी प्रतिबद्धता अनुरूप मौलापुर नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको प्रत्येक घर–घरमा ग्यास सिलिन्डर पुरयाई अढाई वर्षमै पुर्ण रूपमा धुँवा चुलो मुक्त नगर निर्माण गरिएको छ भने कटहरीया र देवाही गोनाही नगरपालीकामा आठ सय पाँच घर परिवारमा ग्यास चुल्हो सिलिन्डर वितरण गरिएको, साथै गुजरा र गरूडा नगरपालिकामा चार सय पाँच घर परिवारमा ग्यास सिलिन्डर वितरण गरिएको छ ।

तामागढ–(विजयपुर–बंकुल, परसवा–खतवहिया, हरिहरपुर–कटानी, जमुनिया–कटहरिया, कटहरिया–बहादुरपुर र फतेपुर–बगही लगायतका सडक कालोपत्र गरिएको छ । धनसर–जंगलसैया–कटहरीया, बालचनपुर–जंगलसैया–कोल्वी, बलुवा–उचिडिह–गोनाही, कटहरिया–कर्कच–टिकुलिया र देवाही–खेसरहिया, बैरगनिया–घुसुकपुर–गम्हरिया लगायतका सडक कालो पत्र गर्ने कार्य अगाडि बढेको छ ।

जयनगर–मौलापुर सडकमा कालो–पत्र करीब करीब सम्पन भएको छ भने गरूडा–कटहरीया–कलैया सडक बैकल्पिक राजमार्गको रूपमा सुचिकृत भई निर्माण कार्य अगाडि बढाइएको छ ।

मौलापुर–गम्हरिया सडक, सगैया–पथरा–अजगैवी सडक र गम्हरिया–चिरचिरिया–सोनरनिया, मर्यादपुर–सितलपुर–मेवा सडकमा कालो पत्रको कार्य तीव्र रुपमा अगाडी बढेको छ भने गरूडा नगरपालिका अन्तर्गत शिवनगर, गरुडा, लक्ष्मीपुर लगायतको क्षेत्रमा सडक पिच एवं ढलान भएको छ ।

हर्षाहा–खतवहिया–छेदीचौक, डुमरिया–कटानी–जंगलसैया तथा ईस्लामपुर–कटानी–मैढा सडकको स्तरोन्नत्तिको कार्य भएको छ भने पोठीयाही, शिवनगर, भिन्डावर (पिपरीया), कटहरिया, जमुनिया, डुमरीया, बहादुरपुर, मौलापुर, सोनरनिया, टेंग्राहा, सितलपुर लगायतका दर्जनौ गाउँमा स्तरीय सडक ढलानको कार्य भएको छ ।

सांसद साहको संसदीय बजेटबाट जयनगर देखि धरहरीसम्मको सडक कालोपत्र, टेंग्राहामा सडक ढलान, गुजरा न.पा. अन्तर्गत प्रतापपुर पल्टुवामा एकीकृत दलित घर निर्माण, विजयपुर विवाहमण्डप तथा मनरुप स्मृति पार्क निर्माण, ईस्लामपुर–मैढा सडक, डुमरिया–कटानी–जंगलसैया सडक एवं दुधिअवा–गर्जा सडक लगायतको सडकहरूको स्तरोन्नत्ति, सन्तपुरमा ईदगाह र ब्रह्म मन्दिर निर्माण, भसेढवामा दलित सामुदायिक घर निर्माण, पिपरीयामा राम कबिर मन्दिर निर्माण गरिएको छ ।

त्यस्तै लक्ष्मीपुर–अमरपट्टिमा सामुदायिक घर, गुजरा न.पा.–४ सोनार डिहमा मोक्तम निर्माण, दुधिअवा–अकोनवा, हिमालीबास –खैरा, बाके –गम्हरिया, डुमरिया–जंगलसैया–कोल्भी, हर्साहा–छेदी चौक, इस्लामपुर–कटानी तथा सोनर्निया–टेंग्राहा–मेवा लगायतका सडक स्तरोन्नति गरिएको छ ।

कोरोना संक्रमणबारे जनचेतना अभिवृद्धि गर्न विभिन्न अडियो र भिडियो निर्माण एवं प्रसारण, कोरोना संक्रमण नियन्त्रण र रोकथाममा आफुले सकेजति योगदान गर्दै सम्बन्धित निकाय एवं संघ र प्रदेश सरकारहरूलाई जिम्मेवारीपूर्ण ढङ्गले लाग्न प्रेरित गरेको उनले जनाएका छन् ।

आफ्नो व्यक्तिगत पहलमा निर्वाचन क्षेत्रको सम्पूर्ण नगरपालिकाहरूमा १०००र१००० थान सर्जिकल मास्क, ५०–५० थान एन ९५ मास्क, १००–१०० थान ग्लब्स, २–२ सेट पिपिई र सेनिटाईजर ५–५ लिटर लगायत स्वास्थ्य सामग्री वितरण गरेको तथा लकडाउनले रोजगार विहिन भएका श्रममा आश्रित परिवारलाई राहत उपलब्ध गराउन पहल गर्दै काठमाण्डौमा अलपत्र रहेका पीडित परिवारलाई सहयोग गरेको प्रतिवेदनमा जनाइएको छ ।

‘यस धर्तीमा विकास भएको भगवान शिवको विशेष अनुष्ठान ‘मधानी महायज्ञ’ लाई अन्तराष्ट्रियकरण गर्न सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा भव्य कार्यक्रमको आयोजना गरिएको छ’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साक्षरता अभियानलाई प्रभावकारी बनाउन, शिवनगर विधुत प्रशाखालाई शाखामा बदल्न, एवं समग्र शान्ति सुरक्षालगायतका जनताको जीवनसंग जोडिएको विषयमा निरन्तर जनपरिचालन गरिएको छ ।

समाजमा रहेको विभेद र अभावलाई ध्यानमा राखेर पीडितहरुको संरक्षणको लागि योजनाबद्ध पहल, बिरामीहरूको उपचारमा विभिन्न किसिमको निरन्तर सहयोग, वैदेशिक रोजगारमा ठगिएका र अलपत्र परेकाहरूको संरक्षणका लागि विशेष पहल एवं सरकारी सेवामा जनताको सहज पहूँच पुर्याउन आवश्यक सहयोग जस्ता कार्यहरू गरिएको छ ।

‘बाढी लगायतका प्रकोपबाट त्रसित जनतालाई संरक्षणको लागि विशेष पहल गर्दै क्षतिग्रस्त संरचनाको तुरून्त पुननिर्माण गरिएको तथा शोषित र उत्पीडितलाई दैनिक कार्यमा सहजता प्रदान गर्न कटहरीया र विजयपुरमा पनि कार्यालय स्थापना एवं संसदीय सचिवालयको व्यवस्था गरिएको छ’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

क्षेत्रमा सम्पन्न हुने धार्मिक, सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुने तथा समाजमा रहेको विकृति र विसङ्गति हटाउन र समाजलाई सही दिशामा अगाडि बढाउन आवश्यक गीतहरू अडियो(भिडियो) निर्माण गरिएको भनी उनको प्रतिवेदनमा उल्लेख छ ।

यी बाहेक सिचाइ, सुचना प्रविधि, खानेपानी, ढल तथा नाला निर्माण, भवन निर्माण, तटबन्धलगायतका कामहरु गरिएको छ ।
यस अवसरमा आ.व. २०७७र०७८ मा केही महत्त्वपूर्ण मन्त्रालयबाट हुने विकास कार्यक्रम सार्वजनिक गरिएको थियो ।