मनहरीमा रहस्यमयी दूर्घटना, एकको मृत्यु ८ घाइते

घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीको भनाइ

हेटौंडा– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा गएराती भएको दूर्घटनामा एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

गएराती करिब १० बजेको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ४८६७ नबंरको टाटा सुमो सडक छेउमा पल्टिएर दूर्घटना भएको हो । सो दूर्घटनामा ८ जना घाइते भए । सोही दिशाबाट आउँदै गरेको को ३४ प ७४९७ नबंरको मोटरसाईकललाई पनि अन्य कुनै सवारीले ठक्कर दिएर फरार भएको पाइएको छ । ठक्करबाट विराटनगर घर भएका ३१ वर्षीय रविन्द्र कुमार पोदारको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा सुमोले मोटरसाइकललाई ठक्कर दिएको भनिए पनि घटनाको प्रकृति हेर्दा त्यस्तो नदेखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बीरेन्द्रकुमार ठाकुरले जानकारी दिए । ‘घटनाको प्रकृति हेर्दा टाटा सुमोलाई अन्य अर्को सवारीले साइड चेपेर आएको र सुमो सडक पेटीको खाल्डोमा खसेको देखिन्छ, पछाडिबाट आइरहेको मोटरसाइकललाई साइड चेपेर ल्याउने सवारीले ठक्कर दिएको जस्तो देखिन्छ ।’ प्रहरी निरीक्षक ठाकुरलले भने । ‘ठक्कर दिने सवारीको खोजी भइरहेको छ, सुमो चालक पनि घाइते भएकाले बयान लिइएको छैन, सुमो चालकको बयानबाट केही थाहा पाइएला ।’

घाइतेहरुको उपचार मकवानपुरको चुरेहिल अस्पताल र चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।