६ करोड बढीको भन्सार छलीको मालसामान बरामद

उत्तम कुमार उपाध्याय
रौतहट, २८ भदौं– सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहटले ६ करोड भन्दा बढी मुल्य बराबरको भन्सार छलीको मालसामान बरामद गरेको छ ।
रौतहटमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय स्थापना भएको बेला देखी अहिले सम्म यति ठुलो परिमाणमा भन्सार छलीको मालसमान बरामद भएको थिएन । गत आर्थिक वर्षको तुलनामा यसपाली २८ प्रतिशत बढी भन्सारछलीको मालसामान नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक सुर्य बहादुर सेन ओलीले जानकारी दिनु भयो ।
विभिन्न किसिमका लत्ताकपडा, किराना सामान, औषधी, कस्मेटिक, ईलेक्ट्रोनिक, हार्डवेयर लगायतका मालसामान गरी ६ करोड ८६ लाख २६ हजार ९ सय ९ रुपैयाँ मुल्य बराबरको भन्सारछलीको सामान बरामद गरी आवश्यक कानुनी कारवाहीको लागी भन्सार चलान गरिएको उहाले जानकारी दिनु भयो ।
यसैगरी आर्थिक वर्ष २०७७÷०७८ देखी अहिले सम्म २ वटा ट्रक, ५ वटा पिकप, एक÷एक वटा कार, मिनी ट्रक, ट्याक्टर, एक सय २७ वटा मोटरसाईकल, २५ वटा साईकल, एक सय ८६ वटा पशुचौपाया, २ हजार ३ सय ९० किलो कुखुराको मासु, ८ सय ४५ वटा कुखुराको चल्ला, २१ कार्टुन अण्डा, ५ सय ३० किलो माछा, ८ सय ८५ कार्टुन मदिरा, ६ सय ६६ लिटर घरेलु मदिरा र ५१ लाख १७ हजार ६ सय ९० रुपैयाँ अवैध रकम बरामद गरी कानुनी कारवाही गरिएको उहाले जानकारी दिनु भयो ।
यसैगरी जिल्लाको विभिन्न स्थानबाट अवैध कार्यमा संलग्न ५८ जना व्यक्तीलाई नियन्त्रणमा लिएर कानुनी कारवाहीको लागी भन्सार कार्यालय तथा नेपाल प्रहरीको जिम्मा लगाईएको उहाले बताउनु भयो ।
उहाका अनुसार, यो अवधीमा अवैध हतियार मध्ये एक थान एयरगन र एउटा कटुवा पेस्तोल सहित नाईट्रोभेट, नुफिन, कोरेक्स, डाईलेक्स लगायत विभिन्न किसिमका प्रतिवन्धित औषधी (लागु औषध) समेत बरामद गरिएको छ ।
अवैध रुपले नदीजन्य पदार्थ उत्खनन् तथा ढुवानीमा संलग्न एउटा जेसिबी, १७ वटा टिपर र ११ वटा ट्याक्टर सहित २९ जनालाई नियन्त्रणमा लिएर कानुनी कारवाही गरिएको छ ।
सिमा सुरक्षाको जिम्मेवारी पाएर रौतहटमा स्थापना भएको सशस्त्र प्रहरीको १४ वर्षको कार्यकालमा यस वर्ष सबभन्दा बढी भन्सारछलीको मालसामान बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक ओलीले जानकारी दिनु भयो । ‘अवैध कार्य रोक्न सशस्त्र प्रहरीले ईमान्दारी साथ निर्वाह गरेको जिम्मेवारीबाट अहिलेको उपलब्धी हात परेको हो,’ उहाले भन्नु भयो, ‘कमाण्डर ईमान्दार भएपछि मातहतका जवान पनि ईमान्दारी पुर्वक काम गर्दो रहेछन ।’ गण मातहतमा रहेका सबै सशस्त्र प्रहरीले काम गर्दा अहिलेको उदाहरणिय उपलब्धी हात परेको उहाको भनाई छ ।
सबैले गरेको योगदानकै कारण सशस्त्र प्रहरी बल ११ नम्बर गण हेडक्वाटर रौतहट सशस्त्र प्रहरी बलको २० औं वार्षिकोत्सवमा नेपालमै उत्कृष्ट गण घोषित भएको उहाको भनाई छ । रौतहटमा २०६४ सालमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयको रुपमा स्थापना भई चोरी निकासी, पैठारी तथा अवैध कारोवारलाई नियन्त्रण गर्ने कार्य गर्दै आएको छ ।