त्रिवि–कृषि विश्वविद्यालय जग्गा विवाद: हेटौंडामा भवन निर्माणमा अवरोध

काठमाडौँ — त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच जग्गासम्बन्धी विवादले हेटौंडास्थित वन विज्ञान संकायको भवन निर्माण कार्य रोकिएको छ । यही विषयलाई लिएर विश्वविद्यालयका डिन कार्यालयहरू आरोपप्रत्यारोपमा उत्रिएका छन् ।
त्रिविको वन विज्ञान अध्ययन संस्थानअन्तर्गत हेटौंडा क्याम्पसको जंगल फँडानी गरेर कृषि विश्वविद्यालयअन्तर्गतको वन विज्ञान संकायले भवन निर्माण गर्न थालेपछि विवाद चर्केको हो । संस्थानले विज्ञप्ति प्रकाशित गरेर कृषि विश्वविद्यालयले जग्गा अतिक्रमण गरेको आरोप लगाएको छ भने संकायले पूर्वसहमतिबमोजिम नै भवन निर्माण गर्न लाग्दा त्रिविले अनावश्यक हस्तक्षेप गरेर अवरोध गरेको जनाएको छ ।
गत सोमबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संकायले १० करोड रुपैयाँ लागतमा बनाउन लागेको ५ तले शैक्षिक भवनको शिलान्यास गरेका थिए । बुधबार भवन निर्माण गर्न जाँदा अवरोध भएको वन संकायका डिन बलराम भट्टले बताए । भोगचलन गर्दै आएको स्थलमा भवन बनाउन खोज्दा त्रिविले अवरोध गरेको उनले बताए ।
‘त्रिविको जग्गामा वन विज्ञान विश्वविद्यालय स्थापना भएको हो, आज पनि त्रिविकै भवनमा कक्षा चलाउँदै आएका छौं,’ उनले भने, ‘पानी चुहिएर कक्षामा पढाउन समस्या भएपछि नयाँ शैक्षिक भवन बनाउन लागिएको हो ।’

दुई विश्वविद्यालयको जग्गा स्वामित्वसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । वन विज्ञान विश्वविद्यालयको चितवन रामपुरको जग्गा सहित हेटौंडाको जग्गा पनि त्रिविकै नाममा छ । विश्वविद्यालय स्थापनाका बेला हेटौंडाको एक सय ५८ मध्ये ६० बिघा जग्गा वन विज्ञानले भोगचलन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।

त्रिवि संस्थानका डिन कृष्णराज तिवारी मन्त्रिपरिषद्ले छुट्याएको भन्दा अन्यत्रको जग्गामा भवन निर्माण गर्न लागिएकाले काम गर्न नदिइएको बताउँछन् । त्रिवि र कृषि तथा वन विश्वविद्यालयका पदाधिकारीहरूबीच २०७४ जेठमा अध्ययन संस्थानअन्तर्गतको हेटौंडा क्याम्पसका नाममा रहेको जग्गामध्ये पश्चिमतर्फबाट ६० बिघा जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो । उक्त निर्णयविपरीत संकाय डिन कार्यालयले भवन निर्माण थालेकाले स्थानीय प्रशासनमा उजुरी गरिएको तिवारीको भनाइ छ ।

भट्ट भने त्रिविले उपलब्ध गराएको जग्गा भवन बनाउन उपयुक्त नभएकाले अर्को ठाउँ छनोट गरेर काम थालिएको तर्क गर्छन् । ‘६० बिघा जग्गा दिइएको छ, त्यहाँ बाटो खुलेको पनि छैन,’ उनले भने, ‘सरकारको पैसाले भवन बनाउने हो, भोलि मुद्दा फैसला हुँदा त्रिविकै हुन पनि सक्छ, अवरोध गर्नुमा असल नियत छैन ।’ तिवारी भने सम्झौताविपरीत संस्थानको पूर्वदक्षिण क्षेत्रमा पर्ने जंगल क्षेत्रमा एकलौटी रूपमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले अवैध तरिकाले रुख कटान गरी निर्माण थालेको बताउँछन् । भवन निर्माणका लागि करिब दुई सय रुख काटिएका छन् ।

‘जंगल फँडानीको विरोध गर्दागर्दै मुख्यमन्त्रीले भवन शिलान्यास गर्नुभयो,’ उनले भने, ‘अवैध निर्माणलाई मुख्यमन्त्रीले नै साथ दिएर द्वन्द्व चर्काइयो ।’ मुख्यमन्त्रीले विवाद सुल्झाउनुपर्ने ठाउँमा झनै अतिक्रमणलाई प्रोत्साहन गरेको त्रिवि डिन कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० को क्षेत्रमा पर्ने जग्गामा नक्सापास नगरी भवन बनाउन लागिएको भन्दै काम रोक्नमागसमेत गरिएको छ । यसअघि पनि कृषि विश्वविद्यालयले पटकरपटक अतिक्रमणको प्रयास गर्दै आएको त्रिवि डिन कार्यालयका पदाधिकारीहरू बताउँछन् ।

कृषि विश्वविद्यालय डिन कार्यालयले भने खोला, खोल्साको सडक नजोडिएको ठाउँमा शैक्षिक भवन बनाउन सकिने तर्क गरेको छ । ‘दुई विश्वविद्यालयबीचको सम्पत्ति विवाद मिलिसकेको छैन,’ डिन भट्टले भने, ‘अहिले पनि एकैठाउँमा पढाइ हुन्छ, भवन बने त्रिविलाई पनि काम लाग्ने हो ।’

त्रिवि र कृषि विश्वविद्यालयबीच विवादमा रहेको रामपुरको २० बिघा जग्गा क्रिकेट रंगशाला बनाउन दिँदा विरोध नगर्ने डिन कार्यालयले क्याम्पस भवन बनाउँदा विरोध गर्नु असुहाउँदो भएको उनले जनाए । सरकारले दुई विश्वविद्यालयका एउटै प्रकृतिका क्याम्पस एकै ठाउँमा सञ्चालन गरेर पटकरपटक विवाद निम्त्याउने गरेको स्थानीयको भनाइ छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।