युनिलिभरले सम्झौता भंग गर्दा हेटौंडाका दुई उद्योग बन्द, सयौं मजदुरको बिचल्ली

हेटौंडा– साबुन–स्याम्पुलगायतका सामाग्री उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले हेटौंडामा रहेका दुई उद्योगसँग एकपक्षीय सम्झौता भंग गर्दा सयौं मजदुरको रोजगारी खोसिएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको गंगा सोप र युनिक सोपस“ग भएको सम्झौता एकपक्षीय रुपमा भङ्ग गरी उद्योग बन्द गर्दा करिब ५ सय जना मजदुरको बिचल्ली भएको हो ।

युनिलिभरसँग युनिक सोपले साबुन र सर्फ उत्पादनको लागि र गंगा सोपले क्लिनिक प्लस र सनसिल्क स्याम्पो उत्पादनको लागि तेस्रो पक्षीय सम्झौता गरेको थियो । १३ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको युनिक सोप ६ महिनाअघिदेखि बन्द छ भने गंगा सोप २ महिनादेखि बन्द छ ।

युनिलिभरले एकपक्षीय रुपमा दुवै उद्योगसँगको सम्झौता तोडेपछि उद्योग बन्द भएको हो । दुबै उद्योग स्थायी, करार र ज्यालादारीका गरी करिब ५ सय मजदुर अहिले कामबिहीन भएका छन् । उद्योग बन्द भएसँगै उनीहरुले अन्य रोजगारी वा उचित क्षतिपूर्तिको माग गर्दै आएका छन् । तर, युनिलिभर यस विषयमा मौन रहँदा मजदुरले आन्दोलनको घोषणा नै गरेका छन् ।

युनिलिभरले एकपक्षीय रुपमा सम्झौता भङ्ग गरेसँगै गंगा सोपका सञ्चालक ईन्द्रबहादुर बानियाँ र युनिक सोपका सञ्चालक नवराज अर्यालले मजदुरको व्यवस्थापनको लागि पटकपटक युनिलिभरलाई आग्रह गर्दा पनि सुनुवाई भएको छैन । मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत छलफलका लागि पटक पटक बोलावट भए पनि युनिलिभरले अटेर गरेको नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरका अध्यक्ष यमबहादुर श्रेष्ठले बताए ।

नेपाली उद्योगसँग एकपक्षीय सम्झौता भङ्ग गरी युनिलिभरले भारतीय लगानीमा सञ्चालित आरएम केमिकललाई साबुन र सर्फ उत्पादनको जिम्मा दिइएको भन्दै श्रेष्ठले आपत्ति जनाए । उद्योग बन्द गराई मजदुरलाई बिचल्ली बनाएको भन्दै मकवानपुरका तीन प्रमुख मजदुर संगठनले युनिलिभरविरुद्ध आन्दोलनको चेतावनी दिएका छन् ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन काँग्रेस र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले युनिलिभरलाई ७ दिनको अल्टिमेटम दिएको जनाएका छन् । मजदुरहरुले युनिलिभरलाई तीन वटा विकल्प दिएका छन् । सकभर बन्द उद्योग पुनः सञ्चालन गर्ने या नसकिएमा युनिलिभरमै रोजगारी दिने व्यवस्था मिलाउने उनीहरुले माग गरेका छन् । ती दुवै विकल्प नमान्ने हो भने मजदुरहरुलाई उचित क्षतिपूर्ति दिई बिदाई गरिनुपर्ने मजदुर संगठनहरुले माग राखेका छन् ।

आफूहरुको माग पूरा नभए जेठ १३ गतेदेखि हेटौंडा बसामाडीमा रहेको युनिलिभर नेपालको गेटमा धर्ना तथा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मकवानपुरका अध्यक्ष श्याम श्रेष्ठले बताए । पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेतासमेत रहेका गंगा सोपका सञ्चालक ईन्द्रबहादुर बानियाँले बहुराष्ट्रिय कम्पनीेले नेपाली उद्योगीलाई हेप्ने काम गरेको भन्दै आपति जनाए ।

१३ वर्षदेखि सम्झौता गरी निरन्तर चलिरहेको उद्योगसँग एकपक्षीय रुपमा सम्झौता भङ्ग गरी मजदुरको बिचल्ली पार्ने काम गरिएको भन्दै उनले आपत्ति जनाए । मजदुरलाई युनिलिभरले दिनुपर्ने एक करोडभन्दा बढी तलब भत्ता उपलब्ध नगराए पनि आफैंले तिर्नु परेको पनि उनले सुनाए ।

उद्योग संघ हेटौंडाका अध्यक्षसमेत रहेका युनिक सोपका सञ्चालक नवराज अर्यालले एकपक्षीय रुपमा सम्झौता भङ्ग गरी अर्को उद्योगलाई उत्पादनको जिम्मा दिनु आपत्तिजनक भएको बताए । ‘सम्झौता रद्द गर्ने परे नियम कानुन र प्रक्रियाबाट मजदुरको समेत समस्या समाधान गरी गर्नुपर्ने थियो । तर, युनिलिभरले यसको पालना गरेन ।’ अर्यालले भने ।