हेटौंडा, २१ असार– मकवानपुरमा करिब ३१ हजार जनाले आफू बेरोजगार रहेको भन्दै रोजगारको माग गर्दै फाराम भरेका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बेरोजगारको तथ्यांक संकलन गर्ने क्रममा मकवानपुरका १० वटा स्थानीय तहमा हालसम्म ३१ हजारले फाराम भरेका हुन् ।
रोजगारीको माग गर्दै हालसम्म ३१ हजार ८२ जनाले आवेदन फाराम भरेको स्थानीय तहहरुले तथ्यांक दिएका छन् । १० वटा स्थानीय तहहरुमध्ये सबैभन्दा धेरै हेटौडा उपमहानगर–पालिकामा १२ हजार दुईसय जनाले बेरोजगार रहेको भन्दै रोजगार आवेदन फाराम भरेका छन् । उपमहानगरपालिकाले दिएको तथ्यांक अनुसार सातहजार नौसय जना महिला र चारहजार तीनसय जना पुरुषले आफूलाई बेरोजगार दाबी गर्दै आवेदन दिएका छन् ।
त्यसैगरी बकैया गाउँपालिकामा तीनहजार पाँचसय ८६ जनाले आफूलाई बेरोजगार दाबी गर्दै फाराम भरेका छन् । कैलाश गाउँपालिकामा तीनहजार चारसय जना, बागमती गाउँपालिकामा दुईहजार दुईसय जना, मनहरी गाउँपालिकामा दुईहजार आठसय जना, मकवानपुरगढी गाउँपालिकामा एकहजार आठसय एकजनाले बेरोजगारको फाराम भरेका छन् ।
यस्तै राक्सिराङ गाउँपालिकामा दुईहजार पाँचसय जना, थाहा नगरपालिकामा एकहजार एकसय १६ जना, भीमफेदी गाउँपालिकामा एकहजार तीनसय ८० जना र ईन्द्रसरोबर गाउँपालिकामा ९० जनाले मात्र रोजगारको लागि आवेदन दिएको बताइएको छ ।
स्थानीय तहहरुले आ–आफ्नो स्थानीय तहमा बेरोजगारको आवेदन भरेर आएकालाई सुचिकृत गरी के काम दिने भन्ने योजना पनि बनाएका छन् । ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष लामाले गाउँपालिकामा बाटो बनाउने, खानेपानी बनाउने लगायतको काम दिने योजना बनाएको बताएका छन् । योजना सबै स्थानीय तहले बनाईसके पनि वडा स्तरबाट बेरोजगारहरुको संङख्या तथा नाम सुचिकृत भएर नआएकोले गर्दा काम सुरु गर्न नसकेको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताए ।
उनले गाउँपालिकाले ८० जनालाई एक महिना काम दिन सक्ने योजना बनाइसकेको भएपनि वडाहरुले वास्तविक बेरोजगारको नाम सुचिकृत नगरेकोले काम सुरु गर्न नसकेको बताए । उनको अनुसार गाउँपािलकाले कुलो खन्ने, बाटो बनाउने, नाली खन्ने तथा पहिरो नियन्त्रण गर्ने जस्ता योजना अघि सारेको छ ।साझाकुरा दैनिकमा समाचार छ ।