हेटौंडा– प्रदेश ३ अन्तर्गत् यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले सवारी चालक अनुमति पत्र दर्ता तथा नवीकरण सुरु गरेको छ ।
हेटौंडा–११ थानाभ¥याङमा रहेको कार्यालयले केहीदिनअघि सेवा सुरु गरिसकेको भए पनि आज बुधबार बिहान एक कार्यक्रमकाबीच मुख्यमन्त्री डोरमणि पौडेलले औपचारिक रुपमा सेवा सुरु गरेका हुन् । २६ जना सेवाग्राहीको सवारी चालक अनुमति पत्र नवीकरण गरेर स्मार्ट लाइसेन्स प्रदान गरी सेवा सुरु गरिएको हो ।
यातायात व्यवस्था विभागको चालक अनुमति पत्र दर्ता तथा नवीकरण प्रणालीमा यस कार्यालयको प्रणाली जोडिएपछि सवारी चालक अनुमति पत्र दर्ता तथा नवीकरण सेवा सुरु गरेको हो ।
यसअघि सवारी चालक अनुमति पत्रको दर्ता तथा नवीकरणका लागि वीरगञ्ज र काठमाडौं जानुपर्ने बाध्यता रहेको थियो । अब नया सवारी चालक अनुमति पत्र जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको थापाले बताए । नया चालक अनुमतिपत्र जारी गर्नको लागि हेटौंडाको विभिन्न स्थानमा निजी क्षेत्रबाट निर्माण भएको ट्रायल सेन्टरहरुको निरीक्षण भइरहेको र ट्रायल सेन्टरलाई भाडामा लिएर लाइसेन्स जारी गर्ने कामको सुरुवात गर्ने कार्यालय प्रमुख थापाले बताए । उनले यसै आर्थिक वर्षभित्र यस लाइसेन्स वितरण नै सुरु हुने दावी गरे ।
कार्यालयबाट जुनसुकै सवारीको नवीकरण, दर्ता, रुट इजाजत, पटके सेवा तथा सवारी अनुमतिपत्र नवीकरण गर्ने काम नियमित भइरहेको छ ।