टिकट नपाउदा आफ्ना कार्यकर्ता बेहोस् हुने चिन्तामा माधव नेपाल

काठमाडौं, ३० भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताउनु भएको छ ।
अध्यक्ष नेपालले चुनाव नलड्न पाएपछि हुन्थ्यो भन्नेहरुले पनि अहिले निर्वाचनका लागि टिकट लिन हानथाप गरिरहेकोले त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताउनु भएको हो ।
बुधवार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उहाँले उठेर दुई कदम पनि हिँड्न नसक्ने वृद्धहरुले समेत टिकटको आकांक्षा राखेको बताउनु भयो ।
अध्यक्ष नेपालले ती आकांक्षीहरुमा टिकट नपाउँदा बेहोस् हुने होकि भन्ने चिन्ता आफूलाई लागेको पनि बताउनु भयो ।उहाँले भन्नुभयो, ‘मंसिर ४ गते चुनाव हुन गइरहेको छ। सबैलाई टिकट चाहिएको छ। अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन। चाहना हेर्ने हो भने आकाशिएको छ। सबै एकदम काबिल भएर आएका छन्।
को काबिल, को काबिल छैन ? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं। नगरेपनि हुन्थ्यो नि दावा भन्ने पनि चर्को दाबी गरिरहेका छन्। उठेर दुई कदम हिँड्न सक्दैन बिचरा बुढो भइसक्यो। तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भएपनि त्यहाँ टाँसिन पाउँ। के होला, कस्तो गाह्रो ?’
अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरूलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराउनुभयो । त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उहाको भनाई थियो।सभार जनता टाइमस।