जाली नोटका कारोबारी हुसेन बाराबाट पक्राउ

बारा, २९ साउन । गतसाउन १३ गते काठमाडौंबाट फरार भएका कुख्यात जाली नोटका कारोबारी तथा सुन तस्कर इल्ताफ हुसेन अंसारी बाराको निजगढबाट पक्राउ परेका छन् । केही दिनदेखी बाराको निजगढमा बस्दै आएका अंसारीलाई बारा, पर्सा तथा ईलाका प्रहरी कार्यालय निगगढका बिशेष प्रहरी टोलीले बिहिबार बिहान ९ बजे पक्राउ गरेको हो । सुनले लेपन गरेको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन तथा दुई थान पेस्तोलसहित अंसारीका सहयोगी र कारोबारी यसअघि पक्राउ परे पनि उनी फरार रहेका थिए । अंसारीसँगै फरार रहेका भारतको गुजरातका सञ्जय पटेल भने अझै पक्राउ परेका छैनन् । १३ गते बिहान सुन्धाराबाट प्रहरीको घुमुवा टोलीले पिछा गरेपछि अंसारी, पटेल, निलेश सखियालगायतको गिरोहले भारत लैजान लागेको सुनचाँदी त्यही छाडेर भागेका थिए । यसैबीच बाराबाट पक्राउ परेका अंसारीलाई महानगरीय अपराध महाशाखा काठमाण्डौमा पठाइएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।