मकवानपुरमा विद्यालय भवन पुननिर्माण तीव्र

हेटौंडा– भूकम्पका कारण क्षति भएका मकवानपुरका विद्यालय भवन निर्माणको कामले तीव्रता पाएको छ । अबको करिब डेढवर्षभित्र मकवानपुरका सबै चारसय नौ वटा विद्यालय भवन पुननिर्माण सक्नेगरी काम भइरहेको बताइएको छ ।

जिल्लामा हालसम्म एकसय ३८ वटा विद्यालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण भइसकेको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षालाई दुईसय ५२ वटा भवन निर्माणको जिम्मा आएको थियो । चालु आर्थिक वर्षमा प्राप्त भएको ५१ वटा विद्यालय भवनको भने सम्झौता भइरहेको आयोजना कार्यान्वयन ईकाई मकवानपुरका प्रमुख बद्रीबहादुर पाठकले जानकारी दिए । ईकाईमार्फत ६३ वटा विद्यालय भवन निर्माणाधीन रहेका छन् ।

आव २०७३/७४ मा आएको ६८ वटा विद्यालयकोे कोटामध्ये ६६ सम्पन्न भइसकेको छ भने दुईवटा निर्माणाधीन रहेको छ । त्यस्तै २०७४/७५ मा पनि ६८ वटा विद्यालयको लागि कोटा तोकिएकोमा ५४ वटा भवन बनिसकेका छन् भने १४ वटा निर्माणाधीन अवस्थामा
रहेको जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा मकवानपुरले जनाएको छ । चालु आवमा पनि दुई चरणमा गरी पुननिर्माण प्राधिकरणले मकवानपुरमा कोटा पठाएको थियो । पहिलो चरणमा ६५ वटा विद्यालय भवन निर्माणको कोटा पठाएकोमा १४ वटा निर्माण सम्पन्न पनि भइसकेको छ । ४७ वटा निर्माणाधीन अवस्थामा रहेका छन् । चालु आवमा दोस्रो चरणमा ५१ वटा विद्यालय भवनको लागि रकम आएकोमा सम्झौताको क्रममा रहेको बताइएको छ ।

‘दोस्रो चरणको कोटा भर्खरै मात्र आएको हो, यी ५१ वटा विद्यालयको सम्झौताको क्रममा छौं, यी सबै विद्यालयको भवन निर्माणको लागि यसैवर्ष सम्झौता गरी पहिलो किस्ताको २० प्रतिशत पनि दिएर काम सुरु गरिनेछ ।’ ईकाई प्रमुख पाठकले भने–‘खर्च हुन बाँकी रहेको पैसा फ्रिज हुन्छ, फेरि अर्को वर्ष सोही कार्यक्रममा दोहोरिएर आउँछ अनि विद्यालय भवन पूर्ण हुन्छ ।’ विभिन्न पाँचवटा
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट २६ वटा विद्यालय भवन निर्माणाधीन रहेका छन् भने एसियाली विकास बैंकको जिम्मामा एउटा नमूना विद्यालयसहित जाइकाको ऋण सहयोगमा ४२ वटा विद्यालय भवन पनि निर्माणकै क्रममा रहेका छन् ।

ईकाई प्रमुख बद्रीबहादुर पाठकका अनुसार मकवानपुरमा विभिन्न विद्यालयको करिब २५ सय कोठा निर्माण गर्नुपर्नेमा हालसम्म करिब १५ सय वटा कोठा निर्माण भइसकेको छ । पुननिर्माण प्राधिकरणले विद्यालयको पुननिर्माणको लागि दिइएको समय अझै दुईवर्ष बाँकी रहे पनि अबको करिब डेढवर्षभित्रै मकवानपुरको विद्यालय पुननिर्माण सकिने ईकाई प्रमुख पाठकको भनाइ छ ।
मकवानपुरमा कुल ५ सय १६ वटा सामुदायिक विद्यालय रहेका छन् । भूकम्मको कारण चारसय नौ वटा विद्यालय भवन प्रभावित भएका थिए ।