मनहरीमा बालविवाह न्यूनीकरणबारे वक्तृत्वकला

हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका–३ मा रहेको महेन्द्रज्योति माविमा बाल विवाह न्यूनीकरणका लागि विद्यार्थीको भूमिकाको विषयमा वक्तृत्वकला प्रतियोगिता भएको छ ।

प्रतियोगितामा महेन्द्रज्योति माविका छात्रा निकिसा तिमल्सिना प्रथम भएकी छन् । प्रतियोगी ८ जनालाई पछि पार्दै उनी प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । 
प्रतियोगितामा सोही विद्यालयमा अध्ययनरत शशी ढकाल द्वितीय, मनहरी गाउँपालिका–३ मै रहेको पशुपतिनाथ माविमा अध्ययनरत हरिकृष्ण ओली तृतीय र महेन्द्रज्योति माविकी रिया उप्रेती सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगीहरुलाई पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगीहरुले समाजमा विद्यमान बाल विवाहको अवस्था, कानूनी प्रावधान, बाल विवाहले निम्त्याउने असर र बाल विवाह न्यूनीकरणमा विद्यार्थीको भूमिकाबारे मन्तव्यमार्फत आफ्नो धारणा राखेका थिए ।

प्रतियोगितामा विजेताहरुलाई बधाई दिँदै मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले बाल विवाह न्यूनीकरणको योजनासहित गाउँपालिका अघि बढेको जानकारी दिइन् । उनले मनहरी गाउँपालिकालाई बाल विवाहमुक्त बनाउनुपर्ने भन्दै त्यसको लागि सबै पक्षको भूमिका हुनुपर्नेमा जोड दिइन् । उपाध्यक्ष विष्टले बाल विवाह मुक्त मनहरी गाउँपालिका घोषणाका लागि सो गाउँपालिकाले बनाएको योजनाबारे जानकारी दिइन् ।

कार्यक्रममा महेन्द्रज्योति माविका प्रधानाध्यापक गोकुल प्रसाद पराजुली, मकवानपुर महिला समूहकी कार्यक्रम संयोजक निशा लामा, बाल विवाहमुक्त प्रदेश अभियान मकवानपुर जिल्ला सहजकर्ता पविना लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरुले कार्यक्रमका सहभागीहरुको प्रस्तुतीको चर्चा गर्दै बाल विवाह न्यूनीकरणमा विद्यार्थीहरुको सक्रिय भूमिकाको अपेक्षा गरे । मकवानपुर महिला समूहकी अध्यक्ष कमला सुवेदीको अध्यक्षता तथा मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्य, पत्रकार शुभलक्ष्मी विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।

एक्सन एडको सहयोगमा मकवानपुर महिला समूहले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई मनहरी गाउँपालिका र महेन्द्रज्योति माविले समन्वय गरेका थिए ।