अख्तियारले प्रिन्टिङ प्रेस प्रकरणमा लामो प्रतिक्षा गर्दा पनि मिश्र सम्पर्कमा नै नआएको तथ्य सार्वजनिक

काठमाडौं, कात्तिक ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेकुरिटी प्रिन्टिङ प्रेस प्रकरणमा उजुरीकर्ता रहेका विजयप्रकाश मिश्र लामो प्रयाश गर्दा पनि सम्पर्कमा नै नआएको तथ्य सार्वजनिक गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तात्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटामाथि छानबिन गर्न अडियो सार्वजनिक गर्ने मिश्रलाई पटक पटक प्रयाश गर्दा पनि सम्पर्कमा नआएकाले अनुुसन्धान नै रोकिएको तथ्य बाहिर ल्याएको हो ।

मिश्र सम्पर्क बाहिर भएका कारण ७० करोड रुपैयाँ अनियमितताबारे छानबिन रोकिएको भन्दै अख्तियारले संसदको सार्वजनिक लेखा समितिलाई पत्र पठाएको छ । तत्कालिन सञ्चार मन्त्री बास्कोटाले ७० करोड रुपैयाँ कमिसनको मोलमोलाइ गरेको भन्दै मिश्रले अडियो सार्वजनिक गरेपछि बाँस्कोटाले राजीनामा दिनुभएको थियो । सो प्रकरणमा अख्तियारले छानविन अघि बढाएपछि मिश्र आफै गायव भएका हुन । अडियो प्रकरणमा लेखा समितिले ०७६ फागुन ३० गते अख्तियारलाई पत्र लेखी यसबारे अनुसन्धान गर्न भनेको थियो ।

अनुसन्धानको क्रममा कतै सम्पर्कमा नआएपछि अख्तियारले भदौ १७ गते सार्वजनिक सूचना नै जारी गरी मिश्रलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको थियो । तर, हालसम्म मिश्र अख्तियारमा हाजिर हुन नआएको अख्तियारले जनाएको छ । अखितयारको सूचनापछि आफू जापानमा रहेको र एक साताभित्र आउने बताए पनि मिश्र नआएका हुन । हाल मिश्र जापान रहेको पनि बताइएको छ ।

बास्कोटाले सेक्युरिटी प्रस खरिदका लागि स्वीस कम्पनी केबीए नोटासिसको एजेन्ट मिश्रसँग कमिसनको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि उहाँले राजीनामा दिनुभएको थियो । बाँसकोटाले अडियो नक्कली भएको बताइसक्नु भएको छ । बाँस्कोटालाई फसाउनका लागि मात्रै परिवन्दका गोटी बनेको र कुनै प्रमाण नरहेको कारण मिश्र अख्तियारको सम्पर्कमा नआएको बताइएको छ । सभार जनता टाईम्स