२५ वर्षको सम्झौता ५ वर्षमै तोडियो, यी व्यवसायीको लाखौं डुब्यो

हेटौंडा–१ मा रहेको मदन अमात्यको जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएका हेटौंडाका व्यवसायी सन्तबहादुर घलान यतिबेला परिलोमा छन् । अमात्यसँग २५ वर्षको लागि सम्झौता भई १ कट्ठा साढे आठ धुर जग्गामा संरचना बनाई काम गरिरहेका घलानको सम्झौता ५ वर्ष नहुँदै तोडियो ।

४० लाखभन्दा बढी खर्चिएर बनाएको संरचनाको भाडा जग्गा धनीले उठाउन थालेपछि उनले बिगत ५ वर्षदेखि न्याय माग्दै भौतारिरहेका छन् । तै पनि कागजी प्रक्रियामा कमजोर सावित भएको भन्दै उनलाई कसैले पनि न्याय दिलाउन सकेको छैन ।

हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि घलानले आफुले नेता तथा समाजमा प्रतिष्ठा कामाएको ब्यक्तिको बचनलाई विश्वास गरेर ४० लाख रुपैँया भन्दा धेरै लगानी गरेर ९ वटा सटर सहितको संरचना निर्माण गरेको तर पाँच वर्ष वित्दा नवित्दै अमात्यले छलकपट गर्दै आफुलाई धोका दिएको गुनासो गरे ।

गत २०६५ साल चैत्र २४ गते बबरमहल स्थित हेटौँडा उपमहानगरपालिका वडा नंबर १ मेन रोडमा उनका पिता हरिबहादुर अमात्यको नाउँमा रहेको कित्ता नंबर १४३ को जगा १ कठ्ठा साढे आठ धुर जग्गा ब्यवसायिक प्रयोजनको लागि जग्गामा न्युनतम २५ वर्ष लाई उक्त जग्गा भाडामा दिने, लिने सहमति बमोजिम होमनाथ गौतमको नाउँमा तीन वर्ष करार लेखि सहिछाप लिएको त्यसपछि पुन मेरो नाममा करार प्राप्त भएको तर पाँच वर्षपछि उनले नविकरण नगरी आफै भाडा उठाउने गतिविधिमा लागेको भन्दै घलानले आपत्ती ब्यक्त गरे ।

उनले आफुले निर्माण गरेको संरचनामा पुर्व सांसद समेत रहेका अमात्यले भाडा उठाएर खाएको र आफु विरुद्ध गद्धारी गरेको बताए । विगत ५३ महिनाबाट अमात्य आफुसँग सम्पर्कमा नआएको, सम्पर्क गर्न खोज्दा समेत वास्ता नगर्ने भएको कारण उनले सम्झौता बमोजिमको हालसम्मको हिसाबकिताब तथा क्षतिपुर्ती पाउनुपर्ने माग समेत गरे ।

उनले आफूले भाडा नपाउने भएपछि बनेको संरचना भत्काएर लैजान पाउनुपर्ने माग गरेका छन् । हेटौंडा उपमहानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा उक्त संरचना भत्काउन आवश्यक समन्वय गर्न चिठी गए पनि मकवानपुर प्रहरीले वास्ता गरेको छैन ।