दुई जिल्ला जोडने ठेकेदारको कारण सडक अबरुद्ध

बारा, २३ बैशाख । दुई जिल्ला जोड्ने हुलाकी सडक ठेकेदार लापरवाहीको कारण अबरुद्ध भएको छ । बारा जिल्लाको कलैयादेखी पूर्व तथा रौतहट जिल्ला पश्चिमको सीमानामापर्ने अरुवा खोलामा मितेरी पुल निर्माणगर्न बनाइएको बैकल्पिक कल्र्भट नदीको पानीले बगाएपछि सो सडक भएर जाने सम्पूर्ण यातायात एक महिनादेखी ठप्प बनेको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर–६ पेटभरवाटोल तथा बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर–२ मलाहीटोलको बिचमापर्ने अरुवा खोलाको पुल निर्माणको क्रममा नदीको पानी बगाउन लगाइएको होमपाईप पानीले बगाएको स्थानीय ज्वाला साहले बताए । दुई जिल्लाबाट आउने जाने दैनिक सवारी साधनका यातायातका साथै स्थानीयहरुले बाराको दौर्वा, बिसुनपुर्वा, टेढाकटी, मलाही, सिंहासनी तथा रौतहटको पेटभरवा, टेग्राहा, कटहरिया, मौलापुर लगायतका ठाृँमा पुग्न समस्या भएको अर्का स्थानीय रामलाल सहनी मलाहले जानकारी दिए । पुलको उतरपर्टीमा रहेको बाबा उजबुज नाथको मन्दिरको पुर्वउतरपटी रहेको माठोको ढिस्को समेत काटेर पुलमा प्रयोग गरेको सोही ठाउँस्थित रहेका मन्दिरका पुजारी जगदेव सहनीले बताए । ठेकेदार नागेन्द्र प्रसाद जसवालले पुल निर्माण गरेपनि साबित खोला भएर बग्ने पानीको मुहान यस्तै छोडेका कारण होमपाईप पानीले एक महिना अगाडी नै बगाएकाले सो सडक भएर जानेलाई सास्ती भएको उहाँले भने । अरुवा खोलासँगै रहेका मन्दिर तथा सामुदायिक भवनमा खोलाको पानी पस्ने सम्भावना बढी भएकाले त्यहाँबाट काटिएको माटोको ढिस्को पुनःव्यवस्थापन नगरेपछि चिन्ता थपिएको मन्दिरका पुजारी मलाहले बताए । कलैया कटहरिया सडक खण्ड निर्माण भई रहेको पुल एसएनआरटिपि परियोजना अन्तरगत विश्व बैकको लगानीमा पुल निर्माण गरिएको पुलमा ठेकेदारको कमीकमजोरी देखिएको जनगुनासो आएपनि लकडाउनको कारण आफु अनुगमण निरिक्षणगर्न पनि नसकेको डि.ई.शिवजी रायले बताए । पुल निर्माणको क्रममा काटिएको सामुदायिक तथा मन्दिर अगाडीको माटो पुनः व्यवस्थापन गर्न आफुले सक्दो सहयोगगर्ने डि.ई.रायले भने ।