हेटौंडामा किन जलाइयो नेपाल साप्ताहिक

हेटौंडा– कान्तिपुर पब्लिकेसनबाट प्रकाशित नेपाल साप्ताहिकले प्रधानमन्त्री ओलीलाई ‘कमरेड बाहुबली’ स्केच बनाएर छापेपछि त्यसको विरोध गर्दै हेटौंडामा पत्रिका जलाइएको छ । नेकपाका स्थानीय नेता सन्तोष न्यौपानेको अगुवाईमा २०७६ जेठ १९ गतेको नेपाल साप्ताहिकको अंक जलाइएको हो।

हेटौंडा बजारको सिमा चोकमा सत्तारूढ नेकपाकै कार्यकर्ताले नेपाल साप्ताहिक जलाएका हुन् । नेपालमा छापिएको कभर फोटोले प्रधानमन्त्रीय प्रणालीको खिल्ली उडाइएको नेकपा कार्यकर्ताको आरोप छ । यता नेपाल साप्ताहिकका सम्पादक बसन्त बस्नेतले यसरी पत्रिका जलाउने घटना आफैंमा दुःखद भएको बताएका छन् ।

पत्रिकामा छापिएका विषयमा चित्त नबुझे खण्डन पठाउने वा अन्य प्रक्रिया अपनाउने विकल्प हुँदाहुँदै त्यसतर्फ नलागी पत्रिका जलाइएको उनले बताए ।
साप्ताहिक ले ‘२१ घटनाले बताउँछन् ओलीमा शक्तिको असीमित तिर्खा छ’ सव–हेडलाइन राखेर समाचार छापेको थियो ।