सैलुङ एजुकेशनले चर्को सेवा शुल्क लिएको गुनासो

हेटौंडा–हेटौँडामा संचालित सैलुङ एजुकेशन कन्सल्टेन्सी प्रा.लिले जापान पठाउने नाममा विद्यार्थीसँग चर्को शुल्क लिने गरेको भन्दै गुनासो आउन थालेको छ । विद्यार्थीसंग जापान पठाउने नाममा चरम शुल्क असुल्न थालेपछि विद्यार्थीहरुले आफूहरु मारमा परेको गुनासो गरिरहेका हुन् ।

कन्सलटेन्सीले ४ वटा इन्टेकमा जापान पठाउने गरेको छ । शैक्षिक परामर्श तथा भाषा शिक्षणको संस्थाको रुपमा दर्ता भएको कन्सल्टेन्सीले विद्यार्थीहरुसंग एक जनालाई जापान पठाएबापत रु २ लाखसम्म सेवा शुल्क लिने गरेको एक विद्यार्थीले नाम नबताउने शर्तमा बताए ।

कन्सल्टेन्सीमा जापानिज भाषा पढेर जापान गएका एक विद्यार्थीले आफ्नो नाम नबताउने सर्तमा भने– ‘६ महिना भाषा पढेबापत १५ हजार तिरेँ ।, न्याट टेस्टको पैसा पनि आफैंले तिरेँ, सहकारीबाट डकुमेन्ट बनाउने शुल्क पनि आफैँले तिरेँ । तर, जापानको भिसा लागेपछि मसंग अरु २ लाख सेवा शुल्क भनेर माग्यो, यो त अति नै हो ।’

कन्सल्टेन्सीका संचालक लिला कुमार घलानले जापान पठाउनको लागि विद्यार्थीहरुको फेक डकुमेन्ट सहकारीबाट बनाउने गरेको पनि विद्यार्थीहरुले दाबी गरेका छन् । उनले हेटौँडाको नमस्ते मकवानपुर सहकारी संस्था र मेरिगोल्ड सहकारी संस्थाबाट विद्यार्थीको फेक बैंक स्टेटमेन्ट बनाउने गरेका छन् ।
उनले सहकारीबाट फेक डकुमेन्ट बनाउँदासमेत प्रतिव्यक्ति विद्यार्थीसंग रु ५ देखि ७ हजारसम्म कमिशन लिने गरेको पनि स्रोतको भनाइ छ ।

स्रोतका अनुसार घलानले रुपक तामाङ्मार्फत जापान पठाउने गरेको विद्यार्थीहरुको सक्कली कागजपत्र समेत पटक–पटक हराइसकेका छन् । विद्यार्थीले मेरो कागजपत्र खोइ ? भनेर प्रश्न गर्दा उनले कुरियरमा हराएको भन्दै आलटाल गर्दै आएको विद्यार्थीको गुनासो छ ।