नेपालमा आज मध्यरातबाट विदेशी च्यानलहरु विज्ञापनरहित (क्लिन फिड)मा प्रशारण हुने

काठमाडौं, कात्तिक ७

नेपालमा आज मध्यरातबाट विदेशी च्यानलहरु विज्ञापनरहित (क्लिन फिड)मा प्रशारण हुने भएका छन् । सरकारको लामो प्रयासपछि यो लागु हुन लागेको हो । गत वर्ष कात्तिक ८ गते प्रमाणीकरण भएको विज्ञापन (नियमन) ऐन, २०७६ मा भएको व्यवस्थाबमोजिम आजदेखि नेपालमा पहिलोपटक क्लिन फिड अर्थात् विज्ञापनरहित विदेशी च्यानलको प्रसारण गर्नुपर्ने छ ।

बार्षिक अर्बौंको कारोबार हुने भएकाले यो रोक्न विगतदेखी चलखेल हुदै आएको थियो । विशेषगरी भारतीयहरुको यसमा विशेष चासो रहेको छ । उनिहरुले पटक पटक म्याद बढाउन आग्रह गरेपनि सरकारले यसलाई ठाडै अस्विकार गर्दै आएको छ । विगत एकवर्ष देखि नै विज्ञापन ऐन लागु भईसकेकाले यो वर्षदिनमा तयारी गर्नुपर्ने हो । तर, विदेशी टेलिभिजन व्यवसायीहरुले फेरी पनि विगतका झै सरकारले झुक्छ भन्दै लागु गर्न आनाकानी गरिरहे ।

सरकारले यो पटक भने जसरी पनि लागु गरेरै छाड्ने अठोट व्यक्त गरेपछि शुक्रबार मध्यरातिबाट यो लागु हुनेछ । अब भने व्यवसायीहरुले केही टेलिभिजन च्यानलहरु नआउने बताएका छन् । तर, उपभोक्तासँग रकम उठाएर च्यानल नआउने बनाउनु त्यो ठगी सरह हो । किनकी सरकारले विगत एक वर्षदेखी यो लागुहुने स्पष्ट गर्दा पनि तयारी नगर्नु उपभोक्तामाथी अर्को अपराध हो ।

भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको छ । क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ८ गते शनिबारदेखि नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापन रहित क्लिन फिड प्रशारण लागु हुने स्पष्ट पार्नुभयो ।

कुन कुन टेलिभिजन नेटवर्कले टेरेरनन्

‘जी’को १२ वटा र सोनीको ८ वटा च्यानल क्लिन फिडसहित प्रसारण हुनेछन् । तर, कार्टुनका च्यानल, बीबीसी अलजजिरा, स्टार्स र कलर्स प्याकेजका च्यानलहरु तत्कालै नेपालमा प्रशारण नहुने भएका छन् ।

२० वटा विदेशी च्यानलले क्लिनफिडको सबै तयारी सकाएको र ‘जी’का १२ वटा च्यानलले आजसम्म सबै तयारी सकाउने जानकारी आएको नेपाल केबल टेलिभिजन महासंघले जानकारी दिएको छ । फुटबल र क्रिकेटका च्यानलहरुले भने अहिलेसम्म क्लिन फिडको सामान ल्याउन सकेका छैनन् । उनिहरुले आनाकानी गर्दै सो सामान सिंगापुरमा अड्किएको दाबी गर्दै आएका छन् ।

भारतीय न्युज च्यानलमध्ये अब ‘जी न्युज’ मात्रै बज्ने छ । अन्य न्युज च्यानलले नेपालमा क्लिन फिडसहित प्रसारण गर्न चाहेका छैनन् । जुन च्यानलहरु भ्रम फैलाउन लागेपछि केही समय पहिला प्रतिबन्ध समेत लागेको थियो । सभार जनता टाईम्स