तरुण दलको गम्भीर आरोपः भ्रष्टचारी चरित्रको खानेपानी मन्त्री

हेटौंडा– जनताको स्वतन्त्रपूर्वक बाँच्न पाउने संवैधानिक अधिकार खोस्दै जनता र राष्ट्रलाई नै घात हुने गरी वर्तमान सरकारले अघि बढेको भन्दै त्यसलाई सच्याउन नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले ध्यानाकर्षण गराएको छ । आइतबार देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई तरुण दलले ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

तरुणले बुझाएको ज्ञापनपत्रमा खानेपानी मन्त्री बिना मगर गैरजिम्मेवार भ्रष्टाचारी चरित्रको रहेको ठहर गरेको छ । ज्ञापनपत्रको ४ नम्बर बुँदामा तरुण दलले काठमाडौंका जनताले दशकौदेखिको मेलम्चीको पानी खाने सपना वर्तमान सरकारको अकर्मण्यता र कुकृत्यको कारण अधुरो रहेको ठहर गरिएको छ । ठेकेदार कम्पनी पनि पलायन भएकोप्रति तरुणले खेद प्रकट गरेको छ । मेलम्ची आयोजना भ्रष्टाचाररहित ढंगले सम्पन्न गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको १० महिना भइसक्दा पनि अपराधमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नसकिएको भन्दै ज्ञापनपत्रमा सरकारको आलोचना गरिएको छ । तीनै तहको सरकारको हरेक तह र तप्कामा भ्रष्टाचार बढ्दै गएकोमा पनि तरुणले चिन्ता व्यक्त गर्दै भ्रष्टाचारलाई शून्यमा झार्नुपर्ने माग गरिएको छ । वाइडबडी भ्रष्टाचार काण्डले नेपाल र नेपालीको शीर निहुरिएको भन्दै अरबौंको भ्रष्टाचारको तत्काल छानविन गरी भ्रष्टाचारीलाई कारबाहीको लागि पनि तरुणले ध्यानाकर्षण गराएको छ ।

एनसेलले बुझाउनुपर्ने ७० अर्बभन्दा बढी राजस्व वर्तमान सरकारले विभिन्न बहाना गर्दै असुल उपर नगरेको आरोप पनि तरुण दलले लगाएको छ । बालुवाटार जग्गा काण्डमा संलग्न नेकपाका महासचिव विष्णु पौडेललगायत व्यक्तिलाई हदैसम्मको कारबाही हुनुपर्नेमा पनि ज्ञापनपत्रमा जोड दिइएको छ । केन्द्रीय कार्यक्रमअनुसार तरुण दल मकवानपुरले पनि मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको तरुणको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।