एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटमा नेपालको दोस्रो जित

काठमाडौं– नेपालले दोस्रो पटक एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो ।

थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४=५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको हो । मलेसियाका तीन खेलाडीबाहेक अन्य खेलाडीले दोहोरो अंक समेत बनाउन सकेनन् । उसका लागि मोहम्मद हजिक ऐमानले १८ र वान मोहम्मद अजामले १६ रन बनाएका थिए । त्यस्तै, जिनेन्द्र मुरलीले १४ रन बनाए ।

२१.५ ओभरमा सातौं विकेट गुमाएको मलेसियाले आठौं विकेटका लागि मोहम्मद हजिक ऐमान र जिनेन्द्र मुरलीले पारी सम्हालेका थिए । ऐमान र मुरलीले २८ रनको साझेदारी गर्दैै मलेसियालाई उकास्ने कोशिस गरेका थिए । तर हजिक ऐमान आउट भएसँगै मलेसिया थप दबाबमा आएको थियो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपक बोहरा र विशालकुमार पटेल चम्किए । विशालले चार विकेट लिदा दीपकले तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए । त्यस्तै, दीपक बोहराले २३, विशाल विक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन बनाए पनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।